
काठमाडौँ: नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ।
कांग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी निभाएका केन्द्रीय सदस्य खाँणलाई पार्टीभित्र प्रभावशाली नेताको रुपमा हेरिन्छ।
कांग्रेसको विचारलाई जनतासमक्ष पुर्याएर आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित तुल्याउन के कस्तो ढंगबाट प्रचारप्रसारलाई अघि बढाउने भन्ने विषयमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र सञ्चारविज्ञसँग आजै छलफल सुरु गरिसकिएको संयोजक खाँणले जानकारी दिए।
केही दिनभित्रै प्रचारप्रसार समितिलाई पूर्णता दिँदै विभिन्न आयामबाट निर्वाचनको प्रचारप्रसारलाई तीव्ररुपमा अघि बढाउने सन्दर्भमा निर्वाचन सामाग्रीको छपाई तथा व्यवस्थापनको कार्य गरिने उनले बताए।
कांग्रेसले मुलुकका केही लोकतान्त्रिक शक्तिसँग निर्वाचनको तालमेल गरी अघि बढ्ने उद्घोष गरिसकेको छ। आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसका १०३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। रासस