PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

एक अर्बमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने, परिषद्ले गर्‍यो ग्लोबल टेण्डर आह्वान



नरहरि पौड्याल

एक अर्बमा पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने, परिषद्ले गर्‍यो ग्लोबल टेण्डर आह्वान

पोखरा : लामो समयको प्रतिक्षापछि पोखरा रंगशाला बन्ने भएको छ। रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ। एक अर्ब रुपैयाँको लागतमा १० महिनाभित्रै काम सक्ने गरी टेण्डर आह्वान गरिएको हो।

परिषद्ले १३ औं सागलाई मध्यनजर गर्दै पोखरा रंगशाला स्तरोन्नतिको तयारी थालेको हो। रंगशालामा ट्रयाक एण्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण हुनेछन्। योसँगै फुटबल मैदान फिफाले तोकेको मापदण्डमा बन्नेछ।

रंगशालामा २० हजार दर्शक अट्ने क्षमताको हुनुपर्ने प्रकाशित सूचनामा उल्लेख छ। रंगशालामा आधुनिक फ्लड लाइटसहित स्कोर वोर्ड, डिस्प्ले वोर्डसमेत राखिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए। उनका अनुसार मंसिर २ गतेसम्म टेण्डर खरिदका लागि अन्तिम समय दिइएको छ।

रंगशाला निर्माणका लागि १ अर्व रुपैयाँ लगानी हुनेछ। पौडेलले भने, ‘स्टेडियम तयार भए सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुदका धेरै खेलहरु पोखरामा हुनेछन्।हामी त्यसैको टार्गेट पूरा गर्ने अपेक्षामा छौं। स्टेडियम पोखराको खेल विकासमा कोशेढुंगा सावित हुनेछ।’

पूर्वाधार निर्माणले गति नलिँदा पोखराले खेलका अवसर गुमाउने गरेको छ। भएका पूर्वाधारको पनि उचित स्यहारसम्भार हुन सकेको छैन।

४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा २०३९/४० सालमा फुटबल मैदान र प्यारापिट बनेको थियो तर, त्यसपछि अहिलेसम्म कुनै पनि पूर्वाधार निर्माण गरिएको छैन।

करिब ३४ वर्षपछि अहिले एउटा बहुउद्देश्यीय भवन बनिरहेको छ। त्यसबाहेक बनाउने भनिएका अन्य पूर्वाधारले गति लिएका छैनन्। सबै कागजी प्रक्रियामै सीमित रहेका छन्।

पोखरामा २०३९/४० सालमा तयार भएको फुटबल मैदान र प्यारापिट अहिले निकै पुरानो र जीर्ण बनेको छ।भिआइपी प्यारापिट त झनै नाजुक अवस्थामा छ।

भूकम्पले चिरा पारेको भिआइपी प्यारापिट मर्मतको पर्खाइमा छ। भूकम्पपछि कमजोर प्यारापिटमा दर्शक राखेर दुई वर्षसम्म फुटबलका ठूला प्रतियोगिता सम्पन्न भइसकेका छन्। तर भौतिक संरचनाको कुनै मर्मत सम्भारतर्फ सम्वन्धित निकायको ध्यान नै पुगेको छैन।

हालको प्यारापिटमा १८ सय र भिआइपी प्यारापिटमा ५ सय दर्शक बस्ने क्षमता छ। पोखरामा फुटबलका राष्ट्रियस्तरका प्रतियोगिता हुँदा प्यारापिटमा नअटेपछि दर्शक भुइँमा बसेर फुटबल हेर्न बाध्य छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell