PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

दोस्रो संविधान सभामा बागलुङका तीनै क्षेत्र जितेको कांग्रेस वाम गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा



पहिलोपोस्ट

दोस्रो संविधान सभामा बागलुङका तीनै क्षेत्र जितेको कांग्रेस वाम गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा

बागलुङ :  मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका नेपाली कांग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन्। 

वाम गठबन्धनविरुद्ध कांग्रेस उम्मेदवार एक्ला चुनावी प्रतिस्पर्धामा ओर्लिएका हुन्। कांग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ। 

उनी २०७१ सालको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नं १ बाट विजयी भएकी थिइन्। यस्तै, २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं ३ बाट निर्वाचित नीरज पुन अहिले क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। 

२०७० सालको संविधानसभा चुनावमा क्षेत्र नं २ बाट सांसद बनेका प्रकाश शर्मा पौडेल अहिले क्षेत्र नं १ को प्रदेशसभा (क) बाट चुनावी मैदानमा छन्। 

वाम गठबन्धनसँग तीव्र प्रतिस्पर्धा हुने देखेर कांग्रेसले पुनः पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेको विश्लेषण गरिएको छ। 

नेपाली कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जनताको बीचमा स्थापित नेतालाई पार्टीले उम्मेदवार बनाएको बताए। जिल्लाको विकासमा तीनै पूर्वसांसदहरुको उल्लेख्य योगदान रहेकाले जित हासिल गर्ने कांग्रेसको दाबी छ। 

पार्टी सभापति थापा पनि निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क)बाट चुनावी प्रतिस्पर्धामा छन्। पाका, अनुभवी र नेतृत्व तहमा रहेका व्यक्तिलाई उम्मेदवार बनाइए पनि पार्टीभित्र असन्तुष्टी रहेको कतिपय नेता बताउँछन्। 

असन्तुष्टिका बीचमा पनि एक ढिक्का भएर चुनावमा जाने कांग्रेस र वाम गठबन्धनका दलले निर्णय गरेका छन्। 

अघिल्ला चुनावमा एकल रुपमा चुनाव लड्दै आएका मुख्य वाम दल अहिले तालमेल गरेर चुनाव भिड्दैछन्। वामपन्थीको राम्रो प्रभाव रहेको मानिएको बागलुङमा नेपाली कांग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग नेपाली कांग्रेस एक्लैले चुनाव लड्दैछ। 

प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले एक्लै उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको छ। 

एमालले एक प्रतिनिधि सभा र एक प्रदेश सभा, माओवादी केन्द्रले पनि एक प्रतिनिधि सभा र एक प्रदेश सभा तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेश सभामा उम्मेदवारी दिएको छ।

वाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनावी प्रचारप्रसारमा जुटिसकेको छ। नेपाली कांग्रेस पनि चुनावी तयारीमा लागेको छ। 

२०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा नेपाली कांग्रेस विजयी बनेको थियो। गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भने सबै दलले मिश्रित परिणाम हात पारेका थिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell