PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित, बने माओ पछिका शक्तिशाली नेता



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित, बने माओ पछिका शक्तिशाली नेता
फोटो श्रोतः radio.gov.pk

बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् राष्ट्रपति सी जिनफिङ पार्टीको आगामी पाँच वर्षे  कार्यकालका लागि पनि निर्वाचित भएका छन्। 

राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले सिलाई महासचिवमा पुन अर्को पाँच वर्षका लागि निर्वाचित गरेको हो। 

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्को पाँच वर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेका हुन्। 

चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उनलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो। 

महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो। 

एक सातादेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उनी एकपछि अर्कोगरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए। 

महाधिवेशले राष्ट्रपति चिनफिङको नाम तथा उनको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो। जसका कारण उनी चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रिय र शक्तिशाली बन्ने निश्चित भएको छ। 

उनले चिनियाँ कम्युनिष्ट पार्टीमा र चीनमा अख्तियार गरेका नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रुपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ। 

उनले बुधबार बिहानै आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराएका थिए। 

पत्रकार सम्मेलनमा सिले आफूले आगामी पाँच वर्षमा गर्ने कार्यक्रमहरु पनि सार्वजनिक गरेका थिए। 

पत्रकार सम्मेलन गरिरहँदा उनको साथमा हिजोमात्र नियुक्त भएका चिनियाँ कम्युनिष्ट पार्टीका छ जना पोलिटब्युरो सदस्य पनि थिए।

उनीहरुले पनि आगामी पाँच वर्षमा आफूहरुले पार्टी र सरकारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell