काठमाडौँ : नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले संविधान कार्यान्वयन र यसका भावना एवं मर्मअनुरुप निजामती सेवालाई समर्पित गराउन ध्यान दिइने बताएका छन्।
पदभार ग्रहण गर्दै मुख्यसचिव रेग्मीले आफ्नो दायित्व सरकारका नीति निर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु रहेको बताए।
उनले भने,‘मेरो मुख्य दायित्व र काम सरकारका नीतिनिर्णयलाई कार्यान्वयन गर्न सहजीकरण गर्नु हो, म यही कामका दत्तचित्त रहन्छु, यही नै मेरो प्राथमिकता हो।’
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रेग्मीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि मुख्य सचिवमा राजेन्द्रकिशोर क्षेत्री थिए। मुख्य सचिवमा नियुक्ति हुनुअघि रेग्मी गृहसचिव थिए।
मुख्य सचिवले रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सेवालाई अझ चुस्त एवं व्यवस्थित बनाउन र यसका सांगठनिक पुनरावलोकन गर्न अध्ययन समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरी सदर गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय सुधार हेर्ने सचिवको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिलाई आफ्नो काम सुरु गरेको दुई महिनाभित्र प्रतिवेदन तयार गर्न कार्यादेश दिइएको छ। मुख्यसचिव रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव एवं विभिन्न मन्त्रालयका विशिष्ट श्रेणीका कर्मचारीले स्वागत गरेका थिए।रासस