
काठमाडौं : थाइल्याण्डमा नोभेम्वर २० देखि शुरु हुने आइसीसी वुमन्स टी-२० वर्ल्ड कप क्वालिफायर २०१७ एसियन रिजनमा खेल्न नेपाली महिला टोलीको क्याम्प शुरु भएको छ।
प्रतियोगिता शुरु हुनु चार साताभन्दा कम समय बाँकी रहेको अवस्थामा भर्खर नेपाली महिला टोलीको ट्रेनिङ क्याम्प शुरु भएको हो।
प्रारम्भिक चरणमा बोलाइएका ४८ मध्ये ४४ खेलाडीको क्याम्प मंगलबारबाट शुरु भएको छ।
टिम सेलेक्सन कमिटिमा रहेका राष्ट्रिय पुरुष टिमका प्रशिक्षक जगत टमाटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पछिल्लो वर्ष गरेको प्रदर्शनका आधारमा प्रारम्भिक चरणमा खेलाडी बोलाइएको बताए।
'गत वर्ष भएको सातौँ राष्ट्रिय खेलकुद, इटहरीमा भएको पिएम कप, धनगढीमा भएको अत्तरिया कप र गत वर्ष हङकङमा खेलेका आधारमा महिला खेलाडीहरु छनोट गरिएको हो।' टमाटाले पहिलोपोस्टसँग भने।
प्रशिक्षकमा सामसन थापा
थाइल्याण्डमा हुने टी २० छनोट प्रतिगिताका लागि नेपाली मिहला टोलीको मुख्य प्रशिक्षकमा सामसन थापा नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा आइसीसीले अप्रुभ गरेपछि थापा प्रशिक्षक नियुक्त भएक टमाटाले जानकारी दिए।
यसअघि गत वर्ष भएको विश्वकप छनोटमा नेपाली मिहला टोलीको प्रशिक्षक राजु बस्न्यात थिए।
शीर्ष दुई टिम ग्लोबल टी-२० क्वालिफायरमा छनोट हुने
थाइल्याण्डमा हुने एसियन छनोटमा नेपाल र बयोजकसँगै चीन, मलेसिया, हङकङ र युएईले प्रतिस्पर्धा गर्नेछ। डबल राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोली अर्को वर्ष नेदरल्याण्ड्समा हुने ग्लोबल टी-२० क्वालिफायरका लागि छनोट हुनेछ।
ग्लोबल क्वालिफायरमा कूल ८ टिम सहभागि हुनेछन्। जसमा अघिल्लो वर्ष ६-२० विश्वकपको पुछारमा रहेका दुई टिम बंगलादेश र आयरल्याण्ड, अमेरिका/युरवप जोनबाट छनोट भएका स्कटल्याण्ड र नेदरल्याण्ड्स, अफ्रिकाबाट छनोट भएको युगान्डा तथा इस्ट एसिया प्यासिफिकबाट छनोट भएको पपुवा न्यूगिनी छन्। अब ग्लोबल क्वालिफायरका लागि एसियाबाट दुई टिम मात्र छनोट हुन बाँकी छ।
प्रारम्भिक चरणमा बोलाइएका ४८ खेलाडीको सूची
प्रारम्भिक चरणमा बोलाइएका ४८ खेलाडी रहेका छन् । जसमा रुविना क्षेत्री, ममता थापा, लक्ष्मी चौधरी, ममता चौधरी, रेखा रावल, कविता जोशी, सीता श्रेष्ठ, तृष्णा सिंह, अनिता चौधरी, सरस्वती चौधरी, शोभा आले, सन्तोषी चौधरी, सीता राना मगर, काजोल श्रेष्ठ, इन्दु बर्मा, रश्मी शर्मा चौलागाईँ, सवनम राई, निर्मला शाही, रोजी कठारी, गीता गोसाई, धन छन्त्याल, सरस्वती पुन, संगीता राई, सुमन विष्ट, नेरी थापा, ज्योती पाण्डे, मुस्कान बेगम, वर्षा राना, कविता गौतम, सोनु खड्का, कविता कुवँर, रोमा थापा, अनुराधा चौधरी, एलिषा क्षेत्री, मन्जु बोगटी, नितु भण्डारी, करुणा भण्डारी, प्रतिक्षा बस्याल, रोशनी बोहरा, सरीता मगर, बिनु बुढा मगर, रित कनोजिया, आरती बिडारी, शान्ती खतिवडा, अश्मी कर्माचार्य, अन्जली चन्द, सुश्मा श्रेष्ठ, रविना भण्डारी रहेका छन्।