
चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ। नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ। कात्तिक १५ गतेदेखि दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ।
ठेकेदार कम्पनीले दैनिक आठ घण्टा सवारी रोक्न माग गरेपनि ६ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको यादवले जानकारी दिए।
उनले भने,‘अब हामी स्थानीय प्रशासनसँग छलफल गरेर दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिन्छौं।’
यसअघि वर्षा सुरु हुनुपूर्व दैनिक आठ घण्टा सवारी साधन रोकेर काम गरिँदै आएको थियो। वर्षा र चाडपर्वको समय भएकाले सवारी साधन रोक्न छाडिएको थियो।
सडक खण्डको विभिन्न ठाउँमा करिब आठ सय मिटर क्षेत्रफलमा भित्तो काट्नुपर्ने काम बाँकी छ। जसका लागि सवारी रोकेर मात्रै काम सम्भव भएको आयोजना प्रमुख यादवले बताए।
ठेकेदार कम्पनीलाई फेब्रुअरी २० तारिकसम्मको समय रहेको भएपनि गएको वर्षामा काम गर्न नपाएकाले अरु एक महिना थप हुनसक्ने छ भन्दै उनले आगामी अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी काम गर्न भनिएको बताए। आउँदो अप्रिलमा निर्माण थालेको तीन वर्ष पुग्दैछ।
भूकम्प, नाकाबन्दी, बाढी पहिरोलगायतका कारण सुरुमा दिइएको दुई वर्षको मिति थप गरेर तीन वर्ष पुर्याइँदैछ। यस अघि २०७३ चैतसम्मको काम रोकिएको समयको मिति थप गरिएको हो। त्यतिबेला वर्षा, निर्वाचन लगायतका समयमा रोकिएको कामको मिति थपिएको हो।
हालसम्म ५७ प्रतिशत मात्रै काम भएको आयोजना प्रमुख यादवले बताए। आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार सात किलोमिटर पाँच सय मिटर सडक एकपत्र कालोपत्रे गरिएको छ। सबै ठाउँमा तीन पत्र कालोपत्रे गर्नुपर्ने हुन्छ। एक दिनमा तीन सय मिटर हाराहारीका दरले कालोपत्रे गर्नसकिने उनले बताए।
फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौँडा गर्न बाँकी छ। ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने इञ्जिनियर खनालले बताए।
सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ। ३ नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षा अघिसम्म भने काम सकिने उनले जानकारी दिए।
नारायणगढ मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ। नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ, भने त्यहाँबाट मुग्लिनसम्म नौ मिटर फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ।रासस