
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले पालमुनिका सबै भूकम्प पीडितलाई जेठ मसान्तभित्र घरमा बसाउने दाबी गरेका छन्।
रिपोर्टरस् क्लबको साक्षात्कारमा भुसालले मंसिरभित्र प्रत्येक गाउँपालिकामा इन्जिनियर पठाउने र जेठ मसान्तभित्र सबै भूकम्प पीडितलाई घरमा सार्ने योजनाका साथ आफूले काम गर्ने बताए।
भुसालले भने,‘प्राधिकरणको नेतृत्वमा म चौथोँ व्यक्ति हुँ, यसअघिका सबै सिइओले राम्रै काम गर्नुभएको हो, तर जनतालाई तत्काल परिणाम चाहेकाले केही काम नभएको जस्तो देखिएको मात्रै हो, सबै सिइओलाई धन्यवाद छ, उहाँहरुले देखाएको बाटोलाई फराकिलो बनाएर हिँड्ने मेरो लक्ष्य छ।’
भुसालले राजनीतिक दबावमा नपरी आफूले काम गर्नेसमेत बताए। भुसालले भने,‘मैले सरकारी तहमा रहेर काम गर्ने अवसर पाएको छु, म राजनीतिक दबावलाई वास्ता गर्दिन, कर्मचारीहरुले आफ्नो कर्तव्य पूरा गर्ने हो, मुलुक र जनताको सेवामा समर्पित हुने हो, अनावश्यक राजनीतिक दबावलाई सुन्नुपर्छ भन्ने छैन।’
उनले भने,‘मंसिरभित्र सबै वडा, गाउँपालिका र नगरपालिकामा आवश्यक इन्जिनियर उपल्ब्ध गराउने छौँ, इन्जिनियरले नमानेको खण्डमा विकल्प खोजिनेछ। काम गर्ने मानिस चाहिँएको छ। हामीले पीडित जनताका आँसु पुच्छन हातहरु उठाउनुपर्छ।’