वीरगंज : वीरगंजका पूर्वमेयर तथा लोकतान्त्रिक फोरमका नेता विमल श्रीवास्तवले संघीय समाजवादी फोरममा जाने घोषणा गरेका छन्।
आफनै निवासमा पत्रकार सम्मेलन गरी उनले नेपाल लोकतान्त्रिक फोरम परित्याग गरी फोरम नेपालमा प्रवेश गर्न लागेको जानकारी दिएका हुन।
पत्रकार सम्मेलनमा श्रीवास्तवले परिस्थितिवस फोरम नेपालको नेतृत्व समक्ष कुनै शर्त नराखी जान लागेको बताए। उनलाई शुक्रबार अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउने कार्यक्रम छ।
तर, आसन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट सांसदका लागि टिकट लिने शर्तमा प्रवेश गर्न लागेका बताइएको छ।
स्थानीय तहको निर्वाचनमा वीरगंजको मेयरमा राजपाले टिकट नदिएपछि उनी लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए। लोकतान्त्रिक फोरमकातर्फबाट वीरगंजको मेयरमा चुनाव लडेर श्रीवास्तव पराजित भएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट गरी यसअघि चार पटक वीरगंजको मेयर भईसकेका श्रीवास्तवले २०५६ सालको निर्वाचनमा भने पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लडेका कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भटटराईलाई समर्थन गरेका थिए ।
त्यसपछि राप्रपामै फर्किएका श्रीवास्तव पहिलो संविधानसभा निर्वाचनमा राप्रपाबाटै र दोश्रो संविधानसभा निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीबाट पर्सा क्षेत्र नम्बर १ मा चुनाव लडेका थिए।