PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

अमेरिकी विदेशमन्त्री टिलर्सन नयाँदिल्लीमा, उच्चस्तरीय भेटवार्ता हुने



पहिलोपोस्ट

अमेरिकी विदेशमन्त्री टिलर्सन नयाँदिल्लीमा, उच्चस्तरीय भेटवार्ता हुने
फोटो श्रोतः tribune.com

नयाँदिल्ली : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली आइपुगेका छन्। उनी आज बिहान पाकिस्तानको इस्लामावादबाट नयाँदिल्ली आइपुगेका हुन्।

नयाँदिल्ली आइपुगे लगत्तै उनले भारतीय नेताहरुसँग भेटवार्ता सुरु गरेका छन्। उनले आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन्। 

आज उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबालसँग भेट गरेका छन्। उच्चस्तरीय भेटवार्तामा भारत अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल हुनेछ। साथै पछिल्लो समयमा बढिरहेको भनिएको चिनियाँ प्रभावका बारेमा पनि उनीहरुबीच कुराकानी हुने बताइएको छ। 

पाकिस्तानमा छँदा भने उनले बढ्दो आतङ्ककारी क्रियाकलापको नियन्त्रण र यसका लागि पाकिस्तानको भूमिकाको बारेमा प्रधानमन्त्री र विदेशमन्त्रीसँग वार्ता गरेका थिए। 

अमेरिकाले यसअघि देखि नै पाकिस्तानले अफगानिस्तानमा आतङ्क मच्चाइरहेका तालिबानहरुलाई पाकिस्तानी भूमिमा संरक्षण दिएको आरोप लगाउदै आएको थियो। 

यस पटक पनि उनले पाकिस्तानका बारेमा सोही टिप्पणी दोहोर्याएका थिए। उनको यस्तो प्रतिक्रियापछि पाकिस्तानी विदेशमन्त्रीले अफगानिस्तानका तालिबानबारेको अमेरिकी धारणा परिवर्तन गर्न वा पुनरावलोकन गर्न आग्रह गरेका थिए। 

साथै उनले पाकिस्तानबाट आतङ्ककारी क्रियाकलापको अन्त्यका लागि पाकिस्तानले थप प्रयत्नहरु अघि बढाउनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश रहेको बताएका थिए। 

गत हप्तामात्र एक प्रसंगमा अमेरिकी विदेशमन्त्री टिलर्सनले एसियामा चीनको प्रभाव पछिल्लो समयमा निकै बढिरहेकाले भारत र अमेरिकाजस्ता प्रजातन्त्रवादी देशबीचको सम्बन्ध थप बलियो हुनुपर्ने बताएका थिए। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell