
राजविराज : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अब कुनै पनि हालतमा नरोकिने बताएका छन्।
निर्वाचन तयारीका क्रममा सप्तरी आएका यादवले राजविराजमा आयोजित कार्यक्रममा चुनाव रोकिने कार्य अब महाअपराध हुने बताए।
उनले निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आचारसंहिता पालनामा राजनीतिक दलका नेतालाई गम्भीर हुन आग्रहसमेत गरे।
उनले चुनावका बेला पार्टीको झण्डा, चुनाव चिह्न अंकित टिसर्ट, टोपी, गम्छालगायत अन्य सामग्री राजनीतिक दलले बाँड्नसक्ने तर सोही सामग्री गरिब, दुःखी एवं बाढीपीडितलाई ती दलले दिन नसक्ने कार्यप्रति दुःखसमेत व्यक्त गरे।
यादवले निर्वाचनका समयमा कुनै स्थानीय नेताहरुले त्यस्ता सामग्री प्रयोग गरेको भेटिए त्यसको स्पष्टीकरण पार्टीको केन्द्रीय कार्यालयलाई सोधिने बताए ।
सरकारी विद्यालयका शिक्षक र सरकारी क्याम्पसका प्राध्यापक उम्मेदवारको प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएको पाइए थुनेर कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए।
उनले दुवै निर्वाचनका लागि एउटै मतपत्र छापिने बताउँदै स्थानीय निर्वाचनमा २ नं प्रदेशका जनताले जसरी उत्साहपूर्वक सहभगिता जनाए झैँ आउँदो निर्वाचनमा पनि सहभागिता जनाउन जनतासमक्ष आग्रह गरे।रासस