काठमाडौं: ऐतिहासिक फिल्म विरताको चिनोको सिक्वेल निर्माण हुने भएको छ। निर्देशक तथा फिल्म लेखक शिवम अधिकारीले फिल्म 'विरताको चिनो २' बनाउने भएका हुन्। यसअघि उनको लेखन तथा निर्देशनमा 'नालापानी' निर्माण हुने भनिएको थियो। तर भदौ ९ गते रिमेश अधिकारीको निर्माणमा नालापानी नामक अर्को फिल्म घोषणा भएपछि उनले पुरानो फिल्मबाट नाम सापटी लिएर फिल्म निर्देशन गर्न पर्ने भएको हो।
श्याम कार्कीको प्रस्तुतिमा सुनिल लामाले निर्माण गर्न लागेको फिल्मलाई रामेश्वर कार्कीले खिच्नेछन्। विरताको चिनो २मा मणि थापाको संगीत, चन्द्र पन्तको द्वन्द रहनेछ। आउँदो माघ महिनाबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्मका लागि अडिसनमार्फत कलाकार चयन हुने बताइएको छ। फिल्मका लागि रमित ढुंगाना, गणेश गिरी, श्रीदेव भट्टराई, श्याम कार्की, सुनिल लामा, केशव सापकोटा लगायतका कलाकार भने फाइनल भैसकेका छन्।
५ बर्ष देखि नेपाल तथा भारतका विभिन्न स्थानहरुमा कथा वस्तु सम्बन्धी अध्ययन तथा अनुसन्धान गरेको निर्माण पक्षको दाबी छ। 'नालापानीको युद्दमा नेपाली सेनाहरुले देखाएको विरताको कथानै मुख्य विषय हो', निर्देशक अधिकारीले जानकारी दिए। फिल्मको छायांकन हेटौंडा,सिन्धुली र काठमाडौँमा हुनेछ।