
- प्रभाषचन्द्र झा
यसलाई ‘नहायखाय’ भनिन्छ। पञ्चमीका दिन ‘खरना’ गरिन्छ। यस अवसरमा वर्तालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुलोमा खीर पकाउँछन्।
घरमा पूजापाठको क्रममा सोही खीर देवीदेउतालाई चढाइन्छ। खीर प्रसादका रुपमा आफू पनि ग्रहण गर्ने र परिवारका सदस्य बीचमा वितरण गरिन्छ। प्रसाद ग्रहण गरेपछि वर्तालु महिलाको पुनः उपवास सुरु हुन्छ।
लगातार ३६ घण्टाभन्दा बढी समयसम्म उपवास गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।
छठ पर्व किन मनाइन्छ ?
सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो। यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो।
को हुन् छठ माता ?
छठ माता को हुन् ? भनेर विभिन्न प्रकारका विचारधारा देखिएको भए पनि यस विषयमा श्रीमद् भागवत् पुराणमा स्पष्ट रुपमा उल्लेख गरिएको छ। पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको प्रसंग शीर्षकमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको छ।
पुराणमा उल्लेख गरिएको छ, ‘राजा प्रियव्रतलाई सन्तान थिएनन्। सन्तानका लागि राजाले यज्ञ गरे। महर्षि कश्यपले यज्ञको लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादको रुपमा खान दिनुभयो। त्यो खीर ग्रहण गरेपछि निर्धारित समयमा रानीले पुत्रको जन्म दिनुभयो तर, पुत्र मृत अवस्थामा जन्म लिए।’
मृत सन्तान जन्मे खवरले राजा विह्वल भए। मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मशानघाटमै प्राण त्याग गर्न खोजे। सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भइन्। राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै ‘म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ। सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पत्ति भएको हो। सोही कारणले मलाई षष्ठी पनि भनिन्छ।’ उनले राजाको मृत बच्चालाई काँखमा उठाएर जीवित पारिन्।
त्यसपछि, देवीले मेरो पूजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिइन्।
कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ। षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको विश्वास गरिन्छ।
छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?
भगवान् राम १४ वर्षको वनवासको अवधिमा रावणको बध गरेका थिए। सो अवधि पूरा हुनासाथ कात्तिक औँसीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ। सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो। दीपावलीको आठौँ दिनमा छठ पूजा हुने गर्छ।
भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण (रावण) हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिइएको थियो।
अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त भएका थिए। सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ। यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ।
यसका साथै, रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टमा रहेका मानिसको दुःख नाशको के उपाय रहेको सम्बन्धमा सर्वशास्त्रज्ञ शौनकमुनिले सूतजीसमक्ष जिज्ञासा राखेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
सोही अवसरमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउन थाले। सोही क्रममा उनले एउटा दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो। सो कष्टबाट मुक्ति पाउनका लागि उनले मृत्युलाई वरण गर्नु नै उत्तम उपाय ठाने र सोही समयमा एक विद्वान् ब्राह्मण दरबारमा पुगेका छन्।
राजाले उनीसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, सन्तान अल्पायुमा मर्ने, पतिले पत्नी त्याग गर्नेलगायतका दुःखको अन्त्यको समाधानको उपाय खोज्न निवेदन गरे।
विद्वान् ब्राह्मणले यी सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेको बताउँदै कात्तिक शुक्ल पञ्चमी(खरना)देखि अस्ताउँदो र उदाउँदो सूर्यको पूजाको सम्बन्धमा विस्तारमा जानकारी गराएका थिए। राजाका साथै प्रजाले सोही तिथिमा सूर्यदेवको पूजा गरेपछि कष्टबाट मुक्त भएको विश्वास छ।
यो पर्व कृषिमा आधारित पर्वको रुपमा रहेको देखिन्छ। यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पंखाका साथै प्रसादका रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भण्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रुपमा ठेकुवा, भुसुवा र मिठाई प्रसादको रुपमा चढाउने गरिन्छ।
अस्ताउँदो सूर्यलाई अघ्र्यको रुपमा चढाइएका प्रसाद पुनः उदाउँदो सूर्यलाई अर्पण गर्न सकिन्छ वा नयाँ पकवान अघ्र्यको रुपमा अर्पण गरिन्छ। तर, उदाउँदो सूर्यलाई अघ्र्य अर्पण नगरेसम्म प्रसाद वितरण गर्न पाइँदैन।
यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ। यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट सुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ। रासस