PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

कास्कीमा दलहरुलाई लाग्यो चुनाव, मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय



पहिलोपोस्ट

कास्कीमा दलहरुलाई लाग्यो चुनाव, मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय

पोखरा :  आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न कास्कीमा राजनीतिक दलहरु सक्रिय देखिएका छन्। 

दलहरु यतिबेला कोणसभा, बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमलाई अगाडि बढाएका छन्। संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य पनि भइरहेका छन्। 

महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ। सबै राजनीतिक दलका जिल्ला समितिले आ–आफ्ना पार्टीका उम्मेदवारका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिश गरेका छन्। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाललगायत सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन्। 

उम्मेदवारी मनोनयन दर्ता गर्ने समय कात्तिक १६ गते पनि नजिक आइरहेकाले केन्द्रमा सिफारिस गरिएका सम्भावित उम्मेदवार यतिबेला टिकटका लागि दौडधुपमा लागेका छन्। उम्मेदवारका आकांक्षी धेरै भएकाले टिकट वितरण गर्न नेतालाई पनि निकै सकस परेको देखिन्छ।  

कास्कीमा प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र कायम गरिएको छ। यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा कास्कीमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो। 

दोस्रो संविधानसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर १ र २ बाट नेपाली कांंग्रेस तथा क्षेत्र नम्बर ३ र ४ बाट एमालेले जितेको थियो।

क्षेत्र नम्बर १ बाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, क्षेत्र नं २ बाट कांग्रेसकै शारदा पौडेल, क्षेत्र नं ३ बाट नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र क्षेत्र नं ४ बाट एमालेकै केन्द्रीय सदस्य सीता गिरी ओली विजयी भएका थिए। 

क्षेत्र नं १ मा एमालेबाट पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिशमा परेका छन्। 

माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिशमा परेका पूर्वमन्त्री देव गुरुङले वाम गठबन्धनबाट लमजुङमा उम्मेदवारी दिई सकेकाले अधिकारी सम्भवतः सो क्षेत्रकों वाम गठबन्धनका एक्ला उम्मेदवार हुन्। 

लोकतान्त्रिक मोर्चाबाट नेपाली कांग्रेसका यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट र पार्टीका केन्द्रीय सदस्य जीवन परियारमध्ये एकजनाले टिकट पाउने निश्चित छ। 

त्यस्तै क्षेत्र नं २ मा वाम गठबन्धनबाट जिल्ला विकास समितिका पूर्वसभापति एवं एमालेका नेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका नेता राजकाजी गुरुङमध्येबाट एक र लोकतान्त्रिक मोर्चाबाट कांग्रेसका शारदा पौडेल, जिल्ला नेता सोभियतबहादुर अधिकारीमध्ये एकले टिकट पाउने पार्टी स्रोतले जनाएको छ। 

यसरी नै क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला, उमा कोइराला, माओवादी केन्द्रका रामजी बरालमध्ये एक र लोकतान्त्रिक मोर्चाबाट कांग्रेसका पूर्व राज्यमन्त्री महादेव गुरुङ, पूर्व सांसद शुक्रराज शर्मामध्ये एकले पाउने बताइएको छ। 

जिल्लामा कुल मतदाता दुई लाख ५५ हजार ४५६ रहेका छन्। तीमध्ये पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चार जना रहेका छन्। 

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं ३ मा ८८ हजार ७१७ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ। 

पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ«े र रुपा गाउँपालिकामा १५० मतदानस्थल र ३१७ मतदान केन्द्र कायम गरिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell