
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन भएकोमा बधाई दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चिनियाँ राष्ट्रपति सिसँग फोनमा कुराकानी गरेको र चीनको नेतृत्वमा शक्ति संगठित गरेको ‘असाधारण उचाइ’ का लागि बधाई दिएको जानकारी दिएका छन्। कुराकानीमा दुई नेताबीच उत्तर कोरिया र अमेरिका चीन व्यापारका विषयमा कुराकानी भएको पनि जनाइएको छ।
कुनै स्पष्ट उत्तराधिकारी नभएपछि पुनः निर्वाचित भएका सिले अर्को पाँच वर्षका लागि आफ्नो पकड बलियो बनाएका छन्। चीनको संविधानमा राष्ट्रपति सिको नाम र उनका सिद्धान्तहरुलाईसमेत उल्लेख गरिएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना समकक्षी चिनियाँ नेता सि शक्तिशाली नेता रहेको अमेरिकी फक्स विजिनेस न्यूज टेलिभिजनलाई बताएका छन्।
अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले भनेका छन्,‘ उहाँ एक असल मान्छे हो, केही मानिसले उहाँलाई चीनको राजा नै भन्छन्। तर उहाँ राष्ट्रपति हो। उहाँसँग धेरै राम्रो सम्बन्ध रहेको छ। यो सकारात्मक कुरा हो। यदि रसिया र अन्य मुलुकसँग पनि यस्तै राम्रो सम्बन्ध भएमा राम्रो हुनेछ।’
ट्रम्पसँगको टेलिफोन संवादमा सिले अमेरिकाका राष्ट्रपतिसँग चीन–अमेरिकी सम्बन्धको भविष्यको विकासबारे संयुक्त खाका बनाएर काम गर्ने इच्छा व्यक्त गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चारसंस्था केसिएनएले त्यहाँका नेता किम जोङ–अनले पनि सिलाई बधाईको सन्देश पठाएको बताएको छ। रासस/एएफपी