
भद्रपुर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई झापाका कांग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन सुझाव दिएका छन्।
गृह जिल्ला झापा आइपुगेका सिटौलाले आफ्नो क्षेत्र झापा क्षेत्र नं ३ का अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा शुभचिन्तकले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै प्रत्यक्षतर्फ नै उम्मेदवारी दिन सुझाव दिएका हुन्।
नेपालको राजनीतिक परिवर्तनमा सिटौलाको अतुलनीय योगदान रहेको भन्दै नेपाली कांग्रेसका शुभचिन्तकहरुले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचनमा सिटौलाको विकल्पमा अर्को व्यक्ति नरहेकोसमेत स्पष्ट पारे।
झापा क्षेत्र नं ३ का कांग्रेस कार्यकर्ताले भावी प्रधानमन्त्रीका रुपमा सिटौलालाई अगाडि आउने नेता भन्दै जनताको प्रत्यक्ष मतदानमा आउन आग्रह गरेका छन्।
कार्यकर्ताको भावनालाई सम्मान गर्ने भन्दै नेता सिटौलाले झापा क्षेत्र नं ३ बाट आफूले प्रत्यक्षमै उम्मेदवारी दिने बताए।
उनले आफ्नो उम्मेदवारी निजी स्वार्थका लागि नभई देश र जनताको सेवा गर्न तथा झापा क्षेत्र नं ३ का जनताको जनभावना अनुरुप रहेको समेत बताएका थिए।रासस