PahiloPost

Apr 17, 2025 | ४ बैशाख २०८२

अस्ताउँदो सूर्यलार्इ अर्घ दिन घस्रिंदै घाट पुगे विराटनगरका मेयर

अस्ताउँदो सूर्यलार्इ अर्घ दिन घस्रिंदै घाट पुगे विराटनगरका मेयर

अनन्तराज न्यौपाने/पहिलोपोस्ट


विराटनगर : १४ वर्षदेखिको आफ्नो कठिन साधनालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यसवर्ष पनि निरन्तरता दिए।

छठ पर्वका व्रतालु रहेका मेयर पराजुली अस्ताउँदो सूर्यलाई अर्घ दिन घरबाट साष्टाङ्ग प्रणाम गर्दै निस्किए। भूईमा लम्पसार पर्दै, एउटा सानो छेस्काले चिह्न लगाउँदै र चिह्न लगाएको स्थानबाट लम्पसार पर्दै उनी घाट पुगेका हुन्। यस्तो उपासनालाई विराटनगरमा दण्ड प्रणाम भनिन्छ। 

विराटनगर वडा नं. ३ स्थित उनको घरबाट उनले अर्घ दिने स्थान वडा नं. १ स्थित परोपकार घाटको दूरी डेढ किलोमिटर छ। दण्ड प्रणाम गर्दै यति दूरी तय गर्न उनलाई तीन घण्टा लाग्छ।

‘मैले सम्पूर्ण देवीदेवता, ईश्वर र संसारसित झुक्ने प्रयास गरेको हुँ’, मेयर पराजुलीले आफ्नो उपासनाको उद्देश्य यसरी प्रकाश पारे, ‘झुक्नु साधनाको मुख्य अङ्ग हो। यसबाट हामीमा भएको अहङ्कार, इर्ष्या र क्रोधलाई नियन्त्रण गर्न सकिन्छ ।’

नेपालमात्र नभई वर्तमानमा विश्वभरिकै समस्या आपसी अहङ्कार र इर्ष्या भएको उल्लेख गर्दै मेयर पराजुलीले माता षष्ठीदेवीसित अहङ्कारको नाशका लागि आफूले प्रार्थना गरिरहेको बताए।

१४ वर्षदेखि उनी नियमपूर्वक व्रत बस्तै दण्डप्रणाम गरी घाट गइरहेका छन्। यस साधनामा आफ्नो व्यक्तिगत मनोकांक्षा नभएको र सर्वजन हिताय, सर्वजन सुखाय आफूले प्रार्थना गर्ने गरेको पराजुलीको भनाइ थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell