काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नभए व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने दाबी गरेका छन्।
लक्ष्मण पन्तद्वारा लिखित ‘आधुनिक नेपालको 'इतिहास वि.सं १७४३–१९५५०’ पुस्तक विमोचन गर्दै अध्यक्ष प्रचण्डले संविधान संसद्को अवधि आगामी माघ ७ गतेसम्म भए पनि निर्वाचनको मनोनयन प्रक्रिया सुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनः स्थापना हुने दाबी गरे।
उनले यस विषयमा आजै वाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए।
प्रचण्डले भने,‘अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचन प्रक्रिया बिथोल्न सक्छन्, यसमा हामी सबै सचेत हुन आवश्यक छ।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेताको सहमतिमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि एउटै सिटमा अलग अलग मतपत्र छाप्ने प्रक्रिया थालेकाले यसमा कुनै भ्रम नराख्न आग्रह गरे।रासस