PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सर्वोच्च नै निर्वाचन सार्न लागेको एमाले-माओवादी गठबन्धनको आरोप



रमेश वाग्ले

सर्वोच्च नै निर्वाचन सार्न लागेको एमाले-माओवादी गठबन्धनको आरोप

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई सोधिएको प्रश्नमा सर्वोच्चलाई नै प्रतिप्रश्न गरेका छन्। 

बुधबार सर्वोच्च अदालतले निर्वाचन आयोगलाई सोधेको प्रश्नमा दुई दलले पत्रकार सम्मेलन नै गरेर अदालतको आदेशमा प्रश्न उठाएका हुन्। 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगबाट सर्वोच्चले चलखेल गर्न लागेको सूचना आएकै आधारमा आफूहरु सरकारबाट नहटेको खुलाए। 

'यो गठबन्धन बनिसकेपछि प्रधानमन्त्रीले सरकार छोड्दा सजिलो हुन्थ्यो भन्नुभयो। त्यसपछि हामीले सरकार छोड्नै लाग्दा निर्वाचन आयोगबाटै निर्वाचनप्रति सर्वोच्चबाटै संशय पैदा हुँदैछ भन्ने सूचना आयो र हामी सरकारबाट नबाहिरिएका हौँ,' अध्यक्ष प्रचण्डले भने, 'निर्वाचन आयोगबाट बिहान सर्वोच्चमा बहस गर्न जाँदा त्यस्तो संकेत पाएपछि 'केही गर्दैछ है' भन्ने सूचना प्राप्त भयो।' 

निर्वाचन आयोगबाट कानुनी बहसमा उपन्यायाधिवक्ता सहभागी हुन्छन्। प्रचण्डले न्यायाधिवक्ता नभनेर निर्वाचन आयोगबाट भने पनि बहसमा उठेका विषय खोलेर स्पष्टतः न्यायाधिवक्ताबाट सूचना आएको कुरा संकेत गरे।

प्रचण्डले सर्वोच्चले उठाएको दुईवटा मतपत्र हुनुपर्ने भन्ने विषयको पनि 'व्याकग्राउण्ड' खोले।

'प्रधानमन्त्रीले यो गठबन्धन बन्नुअघि नै बालुवाटारमा निर्वाचन आयोगसहित राखेको बैठकमा सबै दलले एकमतले गरेको निर्णयका आधारमा निर्वाचन आयोगले मतपत्र छापेको हो,' अध्यक्ष प्रचण्डले भने, 'त्यही निर्णयका आधारमा निर्वाचन आयोगले मतपत्र छापेको हो।' 

उनले संविधान र ऐन अनुसार निर्वाचन आयोगले गरेको काममा सर्वोच्च वा अन्य कुनै निकाय बाधक बन्न प्रश्न उठाउन नहुने बताए।

'मतपत्र दुईवटा नै छापिएका छन्। एउटै मतपत्र भन्ने हुँदै होइन,' प्रचण्डले भने, 'बिहान आयोगले त्यसबारे जानकारी पनि गराएको रहेछ। तर साँझ फेरि विगतको संयुक्त इजलासको आदेशविरुद्ध हुने गरी एकल इजलासबाट आदेश जारी भयो। त्यसले हामीलाई चिसो पस्यो र हामीले यो पत्रकार सम्मेलन गरेका हौं।'

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन प्रक्रिया सुरु भइसकेको भन्दै यसमा संवैधानिक, कानुनी, नैतिक प्रश्न उठाउन नसकिने बताए। 

'निर्वाचनमा सबैले बन्दसूची बुझाइसकेकाले निर्वाचनको प्रक्रिया प्रारम्भ भइसकेको छ,' अध्यक्ष ओलीले भने, 'त्यसैले कसैको आदेश वा फैसलाले निर्वाचन प्रभावित हुँदैन।' उनले निर्वाचन कुनै हालतमा नसर्ने पनि बताए।

निर्वाचन सर्‍यो भने कस्तो आन्दोलन गर्नुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले, 'निर्वाचन सर्दैन, त्यसैले त्यस्तो आन्दोलनको बारेमा सोच्नु नपर्ने बताए।' 

ओलीले प्रधानमन्त्रीले एकदिन बैठक बोलाएर मतपत्रको विषयमा प्रश्न उठेको विषयमा छलफल गरिसकेको भन्दै त्यसपछि उहाँले 'मैले बुझेको रहेनछु, अब क्लियर भएँ' भनेको बताए।

ओलीले निर्वाचन प्रक्रिया सुरु भइसकेकाले कसैको आदेश वा फैसलाले निर्वाचन प्रभावित नहुने भन्दै घुमाउरो आरोप लगाए पनि प्रचण्डले झै खुलेर आरोपित भने गरेका थिएनन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell