PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कांग्रेसका केन्द्रीय नेताको निर्वाचन क्षेत्र छानियो : आज नेताको, भोलि नेतृको पालो



रमेश वाग्ले

कांग्रेसका केन्द्रीय नेताको निर्वाचन क्षेत्र छानियो : आज नेताको, भोलि नेतृको पालो

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय नेताहरुको निर्वाचन क्षेत्र टुंगो लागेको छ। आज बसेको संसदीय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा लड्ने केन्द्रीय नेताको निर्वाचन क्षेत्रको टुंगो लगाएको हो।  

संसदीय समितिमा भएको सहमति अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्ने टुंगो लागेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ एकबाट निर्वाचन लड्ने भएका छन्। 

महामन्त्री डाक्टर शशांक कोइराला नवलपरासी-१, प्रकाशमान सिंह काठमाडौं-१, गोपालमान श्रेष्ठ स्याङ्जा-२, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी- ४ बाट उम्मेदवार बन्ने भएका छन्।

डाक्टर मिनेन्द्र रिजाल मोरङ-२, महेश आचार्य मोरङ-४, डाक्टर शेखर कोइराला मोरङ-६ बाट चुनाव लड्ने छन्। यस्तै श्रम मन्त्रीसमेत रहेका फरमुल्लाह मन्सुर बारा-३, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर-२, रमेश लेखक कञ्चनपुर-३, डाक्टर नारायण खड्का उदयपुर-१, गगन थापा काठमाडौँ-४, प्रकाशशरण महत काठमाडौं-५ र नविन्द्रराज जोशीले काठमाडौं-८ बाट चुनाव लड्ने भएका हुन्। 

यस्तै कम विवादित रहेका केही निर्वाचन क्षेत्रमा पनि उम्मेदवार टुंगो लागेको संसदीय समितिका सदस्य बालकृष्ण खाँणले जानकारी दिए। 
'काभ्रे एक, सिन्धुली एक, उदयपुर दुई लगायतका केही निर्वाचन क्षेत्रको पनि निर्णय भएको छ। तर ती निर्वाचन क्षेत्रबारे अन्य निर्वाचन क्षेत्रको टुंगो लागिसकेपछि मात्र निर्णय सार्वजनिक हुन्छ,' खाँणले भने।

भोलि महिलाको पालो

संसदीय समितिले आज केन्द्रीय समितिमा रहेका प्रत्यक्षतर्फ निर्वाचनमा लड्न चाहने पुरुष केन्द्रीय सदस्यका विषयमा मात्र निर्णय गरेको छ। भोलिको बैठकले केन्द्रीय नेतृहरुका विषयमा निर्णय गर्नेछ। 

'आज प्रमुख नेताहरु मध्ये पुरुषका विषयमा मात्र निर्णय भएको छ,' नेता खाँणले भने, 'भोलि महिलाको विषयमा संसदीय समितिले निर्णय गर्नेछ।' 

उनले यसपटक प्रत्यक्ष निर्वाचनमा भाग लिन महिला केन्द्रीय सदस्यहरु, ईश्वरी न्यौपाने, अम्विका बस्नेत, महालक्ष्मी उपाध्याय डिना, डाक्टर आरजु राणा देउवा र किरण यादव इच्छुक देखिएको बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell