PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

केन्यामा भएको राष्ट्रपतीय निर्वाचनका क्रममा तीन जनाको मृत्यु



पहिलोपोस्ट

केन्यामा भएको राष्ट्रपतीय निर्वाचनका क्रममा तीन जनाको मृत्यु
तस्बिर: भ्वाइस अफ अमेरिका

नैरोबी: केन्यामा बिहीबार दोहोर्‍याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ। निर्वाचनको बहिष्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु भएको प्रहरी र अस्पतालका स्रोतहरुले जनाएका छन्।

मतदाताहरुलाई मतदान गर्न अवरोध गरेका विपक्षी दलका एक जना कार्यकर्ताको नैरोबीमा प्रहरीसँगको झडपमा परी मृत्यु भएको हो।

एक जनाको मृत्यु भएको ड्रग्नेट अस्पतालका निर्देशक डिक्केन्स ओसीम्बाले पुष्टी गरेका छन्। एएफपीका एक जना फोटोग्राफरले पनि शव देखेको बताएका छन्।

प्रहरी उच्च अधिकारीद्वारा प्रकाशित एक विज्ञप्तिमा पश्चिमी होमा बाइमा पनि गोली लागी एक जनाको मृत्यु भएको उल्लेख गरिएको छ। यसअघि १९ वर्षका एक व्यक्ति किसुमुमा मारिएको प्रहरी र अस्पताल स्रोतले जनाएको थियो। उनको शव पनि एएफपीका प्रतिनिधिले देखेका थिए।

निर्वाचनका क्रममा गत अगस्त ८ देखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या ४३ पुगेको छ। अधिकारवादीहरुले सरकारले भनेको भन्दा धेरै जना प्रहरीका तर्फबाट मारिएको बताएका छन्।

निर्धारित समयमै होला की नहोला भन्ने आशंकाकाबीच बिहीबार केन्यामा दोहोर्‍याएर राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको हो। विपक्षी दलका नेता राइला ओडिङ्गाले निर्वाचन बहिष्कार गरेकाले यस्को वैधतामा भने धेरैको चासो कायमै रहेको छ।

विपक्षी दलका नेता ओडिङ्गाले निर्वाचन निश्पक्ष हुन नसक्ने भन्दै बहिस्कार गरेको बताउँदै आएका छन्।

केन्यामा यसअघि केहीमहिना अघि भएको निर्वाचनमा धाँधली भएको ठहर गर्दै अदालतले फेरी निर्वाचन गराउन आदेश दिएकाले बिहीबार राष्ट्रपतीय निर्वाचन भएको हो। त्यतिबेलाको निर्वाचनमा वर्तमान राष्ट्रपति उहुरु केन्याटा राष्ट्रपतिमा पुनः निर्वाचित भएको घोषणा गरिएको थियो।

आठ जना उम्मेद्वार मात्र रहेको निर्वाचनबाट वर्तमान राष्ट्रपति उहुरु केन्याटा दोस्रो पटक पुनः चुनिने पक्का देखिएको छ।

निर्वाचनमा अघिल्लो पटकको तुलनामा कम मतदाताहरु सहभागी भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार बिहान ६ बजे मतदान शुरु भएको थियो। मतदाता र मतदान केन्द्रको सुरक्षाका लागि ठूलो संख्यामासुरक्षाकर्मी परिचालन गरिएको थियो। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell