
काठमाडौं : पशुपंक्षी विकास मन्त्रालयले सात सय ४४ स्थानीय तहमा पशुपंक्षीको व्यावसायिक विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा तीन अर्ब ४१ करोड पठाएकोमा त्यसको उचित प्रयोग हुन सकेको छैन।
केन्द्रबाट स्थानीय सरकारलाई आवश्ययक रकम समयमै नपठाइएका कारण सो रकम स्थानीय तहको विकास निर्माणलगायत अन्य खर्चमा प्रयोग भएको हुँदा लक्ष्यअनुसारको कार्यक्रममा खर्च हुन नसकेको हो।
स्थानीय तहदेखि नै पशु सेवा विकास कार्यक्रमका लागि आवश्यक पर्ने एकीकृत व्यापार रणनीति तथा बंगुर, कुखुरा, सहकारीलगायत कार्यक्रम सञ्चालन गर्न रकम पठाइएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए।
मन्त्रालयले पशु आहार सेवा कार्यक्रम, पशुपंक्षी बजार प्रवद्र्धन कार्यक्रम, पशु सेवा प्रसार कार्यक्रम सञ्चालन गरी कृषकमा आकर्षित गर्ने र उत्कृष्ट व्यवसायी तयार गर्ने नीति लिए थियो। ती कार्यक्रमका लागि बजेट निर्माण गर्दा सात सय ४४ स्थानीय तह कायम गरिएकाले पछि थप भएका नौ स्थानीय तहमा कार्यक्रम राखिएको थिएन।
प्रारम्भिक रुपमा स्थानीय तहमा ल्याइएका कार्यक्रम लक्ष्यअनुसार उपलब्धि हासिल हुन सकेको भए मन्त्रालयले थप रकमका लागि बजेट व्यवस्था गर्ने योजना रहेको प्रवक्ता पौडेलले बताए। रासस