
बनेपा : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।
नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भए पनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिस मात्रै गरेको छ।
प्रदेश सभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीका तर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको हो। प्रदेश सभाका लागि कसैको नाम पनि टुंगो लागेको छैन, नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर वाइवाले बताए।
उहाँले आज बस्ने जिल्लाको पदाधिकारी तहको बैठकले पनि केही निर्णय गर्ने उल्लेख गर्दै केन्द्रबाट कार्यदलको निर्णय पनि आउने भने।
नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष दिनानाथ गौतमले नेकपा (एमाले)सँगको सहकार्यका लागि निर्वाचन क्षेत्र नं १ टुंगो लागे पनि उम्मेदवार टुंगो नलागेको बताए।
उनले त्यस क्षेत्रका लागि कमानसिंह लामा, सूर्यमान दोङ, रुकु चौलागार्इं, रेणुका चौलागार्इंको नाम केन्द्रमा सिफारिस भएको जानकारी दिएका छन्।
“सर्वसम्मत नभएपछि सिफारिस गरेर केन्द्रमा पठाएका छौँ”– उनले भने। उता नेपाली कांग्रेसले जिल्लाको क्षेत्र नं १ मा तीर्थ लामा र २ नं क्षेत्रमा पार्टी सभापति मधु आचार्यको नाम टुंगो लगाएको छ, तर प्रदेश सभामा कुनै पनि उम्मेदवारको टुंगो लगाउँन सकेको छैन।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशसभाका लागि क्षेत्र नं १ को (क) बाट सिवी लामा र २ को (ख) बाट कञ्चनचन्द्र वादेको नाम टुंगो लगाएको छ।
जिल्लामा प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि चारजना निर्वाचित हुनेछन्। काभ्रेमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ। रासस