PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

जुम्लामा दश जोड दुई कक्षा सञ्चालनका लागि देउसी खेलेर २५ लाख संकलन



पहिलोपोस्ट

जुम्ला :  जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला ताम्तीका बासिन्दाले दश जोड दुई कक्षा सञ्चालनका लागि देउसी भैलो खेलेर २५ लाख १२ हजार संकलन गरेका छन्। 

जुम्लाकै अतिदुर्गम क्षेत्रमा अवस्थित साविकको प्रस्तावित कालिका माध्यमिक विद्यालयलाई दश जोड दुईमा स्तरोन्नति गर्न विद्यालयको नेतृत्वमा त्यहाँका समुदायले सामूहिक देउसी भैलो खेलेका थिए।

तिहारमा खेलिएको देउसीबाट २५ लाख ४२ हजार रुपैयाँ संकलन भएको स्थानीय मानबहादुर शाहीले जानकारी दिए। 

दुर्गम बस्तीका विद्यालयलाई दश जोड दुई कक्षा सञ्चालन गर्न अनुमति नदिएकाले विद्यार्थीले उच्च शिक्षाका लागि अन्य गाविस÷गाउँपालिका चाहार्नुपर्ने बाध्यताबाट मुक्त गराउन देउसी खेलेर रकम संकलन गर्नुपरेको देउसी संयोजन समितिका संयोजक जीवन शाहीले जानकारी दिए।

उनले भने,‘शिक्षा क्षेत्रमा सबैलाई सहयोग गर्न अनुरोध गरेपछि समुदायबाट पनि सहयोग भएको छ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर शाहीले १० कक्षासम्म अनुमति पाएको विद्यालयमा हालसम्म मावि दरबन्दी नरहेकाले समुदायले नै ६ जना निजी शिक्षकलाई तलब खुवाउँदै आएको बताए।

दश जोड दुई कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसी खेल्ने कुरा सार्वजनिक गरेपछि स्थानीयवासीले ११ हजार भन्दा बढी दान दिएका उनले बताए । 
शाहीले भने,‘यत्रो रकम उठ्ला भन्ने सोचेकै थिइएन, गाउँका सामान्य मान्छेले हजारौँ रुपैयाँ दिएपछि म आफैँले पनि एक लाख ११ हजार १११ रुपैयाँ दिएँ।’

स्थानीयवासी धनबहादुर शाहीले सबैभन्दा बढी रकम एक लाख १३ हजार रुपैयाँ दान दिएका थिए। 

देउसीमा नगद मात्र नभएर जिन्सी पनि प्राप्त भएको छ। जसमा २१ भेडा, ६ लिउ र चार कम्बल छन्। उक्त विद्यालयमा ४४२ विद्यार्थी अध्ययनरत छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell