काठमाडौ : झापाको बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने केही प्रदर्शनकारी घाइते भएका छन्।
झडपमा परी नरेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए।
अहिले बिर्तामोड तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले विर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीको बा १० च ३०६१ नम्बरको गाडी तोडफोड गरिदिएका छन्।
दिउँसोदेखि झापाको विर्तामोडमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो। झापा अर्जुधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्युको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीयले गरेको प्रदर्शन हिसात्मक बन्दै गएपछि कर्फ्यु लगाइएको हो।
तर, कर्फ्यु तोडेर प्रदर्शन जारी राखेपछि भएको झडपमा एकको मृत्यु भएको हो। एकजना गम्भीर घाइते भएका छन्।
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार मुक्ति चोकलाई केन्द्र मानी पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको हो।
बालक मृत्युको विषयलाई लिएर प्रहरीले र सर्वसाधारणबीच आज विहानदेखि नै झडप सुरुभएको थियो। असोज १४ गते घरबाट खेल्न गएका बेला बालक शिवाकोटी बेपत्ता भएका थिए। त्यसको २४ घण्टा नवित्दै बालकको शव स्थानीय खोलामा भेटिएको थियो।
घटनापछि प्रहरीले शंकास्पद ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको बेला प्रहरीको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै आफन्तहरुले प्रहरी कार्यालय घेराउ गरी आन्दोलन सुरु गरेका थिए। बालकको मृत्युबाट आक्रोसित प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयत्न गर्दा विहानै देखि झडप सुरु भएको थियो।
प्रहरीको हस्ताक्षेप पछि बिर्तामोडबासी प्रदर्शनमा थपिदै जाँदा त्यसले आन्दोलनको रुप धारण गरेको हो। आक्रोस नियन्त्रण गर्न जटिल भएपछि प्रमुख जिल्ला अधिकारीले कर्फ्यु घोषणा गरेका हुन्।