काठमाडौं : नेपाली भलिबलको इतिहासमा पहिलो पटक हुन लागेको उमेर समूहको प्रतियोगितामा महिला र पुरुष गरी कूल ३९ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रथम प्याब्सन यू-१८ महिला/पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ १६ तथा पुरुष तर्फ २३ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
शुक्रबार पत्रकार सम्मेल गर्दै आयोजक विद्यालय भलिबल कमिसनले आगामी आइतबार हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र प्रतियोगिताको लागि उत्साहित भएको जानकारी दिएको छ।
महिलामा काठमाडौंबाट ८ र बाहिरबाट ८ टिमले सहभागिता जनाउनेछन् भने पुरुषमा झापादेखि कञ्चनपुरसम्मका टोली सहभागि छन्।
उमेर समूहको राष्ट्रिय महिला र पुरुष टोली निर्माण गर्नेका लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको विद्यालय भलिबल कमिसनका अध्यक्ष रामबहादुर केसीले बताए।
'नेपाली भलिबलमै उमेर समूहको पहिलो प्रतियोगिता हुँदैछ। यसबाट यू-१८ का लागि महिला र पुरुषतर्फ २४-२४ खेलाडी छनोट गरिनेछ।' केसीले भने। 'अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर आएमा त्यसैबाट क्याम्पमा राखेर राष्ट्रिय टिम तयार पारिनेछ।'
प्रतियोगिता कात्तिक १२ देखि १९ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल ट्रेनिङ सेन्टरमा हुनेछ।
महिला र पुरुष दुवैमा सहभागित टोलीलाई ८-८ समूहमा विभाजन गरिएको छ।
महिलातर्फ एक पुलमा २ टिम मात्र रहेकाले सिधै प्रिक्वाटरफाइनल खेल हुनेछ। पुरुषतर्फ भने ७ पुलमा ३ टिम छन् भने एक पुलमा २ टिम छन्। पुरुषको लिगकम नकआउटपछि नकआउट चरणका खेल हुनेछ।
प्रतियोगितामा लिग चरणको खेल बेस्ट अफ थ्री र नकआउटका खेल बेस्ट अफ फाइभमा हुने केसीले जानकारी दिए।
अध्यक्ष केसीले यू-१८ पछि यू-१६ र यू-१४ को पनि राष्ट्रिय प्रतियोगिता गर्दै राष्ट्रिय टिम निर्माण गर्ने बताए।
नेपाल भलिबल संघ (एनभिए)ले प्रतियोगिताका लागि विद्यालय भलिबल कमिसनलाई बल र नेट प्रदान गरेको छ। एनभिएका अध्यक्ष मनोरञ्जन रकम शर्मा र महासचिव जितेन्द्र बहादु रचन्दले खेल सामाग्री विद्यालय कमिसनका अध्यक्ष केसीलाई शुक्रबारै हस्तानरतण गरे।