
काठमाडौं : फिल्म साउथ एसिया-२०१७ वृत्तचित्र महोत्सवको आधिकारिक मोबाइल एप सार्वजनिक भएको छ।
दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र महोत्सवको एघारौ संस्करण कार्तिक १६ गते देखि ललितपुरको यालामाया केन्द्रमा शुरु हुँदैछ।
आइफोन र एन्ड्रोइड मोबाइल फोनको एप्पल एप स्टोर र गुगल प्लेस्टोरमा उपलब्ध फिल्म साउथएसिया-२०१७ नामक एपबाट महोत्सवका देखाइने सबै वृत्तचित्रका जानकारी, देखाइने मिति र समयका साथसाथै मोबाइलको क्यालेण्डरमा आफूलाई हेर्न मन लागेका वृत्तचित्रलाई राखेर अलार्म समेत राख्न सकिने गरि बनाइएको छ।
साथसाथै फेसबुक वा ट्विटरबाट साइन इन गरेर मोबाइल एपमा आफ्नो विचार र फोटो शेयर गर्ने एंव अन्य एप प्रयोगकर्ताहरुसँग गाँसिने र सन्देश आदानप्रदान गर्ने सुविधा राखिएको छ।
महोत्सवका सहायक निर्देशक रेवती गुरुङले एप जारी गर्दै भने, 'फिल्म साउथएसिया २०१७ मोबाइल एप विशेष गरेर महोत्सवमा सहभागी हुन चाहनेहरुलाई लक्षित गरि बनाइएको हो। जसबाट दर्शकहरुले प्रदर्शन हुने वृत्तचित्रका बारेमा जानकारी लिने र आफूले रोजेका वृत्तचित्रहरु आफ्नो क्यालेण्डरमा राख्न सक्ने र अन्न सहभागीसँग विचार, फोटोहरु र सन्देश साट्न सकिने हुँदा सहभागिता सहज र उपलब्धीपूर्ण हुनेछ।'
‘वृत्तचित्र एक साक्षी’ नाराका साथ हुन लागेको फिल्म साउथ एशिया २०१७ चार दिनसम्म चल्नेछ। सन् २०१५ यता बनेका दक्षिण एशियाको समसामयिक विषयहरुमा केन्द्रित ३ सयभन्दा बढि वृत्तचित्रहरु मध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्रहरु प्रदर्शन गरिनेछ।