
काठमाडौ : झापाको बिर्तामोडमा प्रहरी र स्थानीयबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। झडपकै क्रममा १० जना भन्दाबढी घाइते भएको प्रहरीले जानकारी दिएको छ।
शुक्रवार विहानैदेखि बिर्तामोड तनावग्रस्त बनेको थियो। गत असोज १४ गते (दशैंको टिका)को दिन अर्जुनधारा नगरापालिका ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको रहस्यमय मृत्युको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका थिए।
स्थानीयको प्रदर्शन बढ्दै गएपछि प्रहरीले बिहान केही राउण्ड अश्रु ग्यास हानेको थियो। प्रदर्शन बढ्दै गएपछि प्रहरीले दिउँसो साढे १ बजेपछि मुक्तिचोकलाई केन्द्र मानी पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाउनु परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी राजकुमार सिलवालले बताए। प्रहरीले प्रदर्शनकारीले तोडफोड र आगजनी गरेपछि नियन्त्रणमा लिन गोली चलाएको हो।
स्थानीयले कर्फ्यु अवज्ञा गरेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि अर्जुधारका नरेश थापाको मृत्यु भयो।
कसरी भयो बालकको रहस्यमय मृत्यु ?
दशैंको टीकाको दिन ११ वर्षीय लक्ष्मण एकाएक खेलिरहेको ठाउँबाटै हराए। बालक हराएपछि परिवारले आफन्त, छरछिमेकमा खोजि गरे। उनी कतै नभेटिएपछि स्थानीय प्रहरीलाईसमेत खबर गरियो।
हराएको २४ घण्टा वित्न नपाउँदै बालक मृत फेला परे। बिर्तामोड १ बैसावाडीस्थित झाडीमा बालकको शव पानीमा डुवेको अवस्थामा भेटियो।
बालकको हत्या गरिएको भन्दै काका विष्णुप्रसाद शिवाकोटीले विर्तामोड ५ का सुरेश पोखरेललगायतविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।
घटना भएको महिनादिन भइसक्दा पनि घटनाको सत्यतथ्य अनुसन्धान नभएको भन्दै स्थानीयले प्रहरी प्रशासन प्रति आक्रोस व्यक्त गरेका थिए। प्रहरीले पोख्रेलसँग मिलेर घटना दबाउन खोजेको स्थानीयले आरोप लगाएका छन्।