PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

वाम गठबन्धनले ताप्लेजुङ–दार्चुला चुनावी अभियान गर्ने



पहिलोपोस्ट

वाम गठबन्धनले ताप्लेजुङ–दार्चुला चुनावी अभियान गर्ने

काठमाडौँ :  पार्टी एकताको निर्णयसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कात्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने भएका छन्। 

अभियानलाई दुवै पार्टीका शीर्षनेताले सम्वोधन गर्ने गरी कार्यक्रम तय गरिएको र स्थानीयस्तरमा तय हुने निर्वाचन केन्द्रित कार्यक्रममा पनि पार्टीका उच्च तहका नेता सहभागी हुने भएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा आगामी मंसिर १० गते निर्वाचन हुने हिमाली जिल्लामा चुनावी अभियानलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। 

पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन हुँदैछ। ती जिल्लाको चुनावी अभियानपछि दोस्रो चरणका लागि कार्यक्रम तय गरिने ती पार्टीले जनाएका छन्। यस्तै जिल्ला तहमा पनि दुवै पार्टीले सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाउने, संयुक्त प्रचारप्रसार समिति बनाउने, जनवर्गीय तथा लेखक, बुद्धिजीवीका बीचमा संयुक्त कार्यक्रम गर्ने र विपक्षीका तर्फबाट फैलाइएको गलत प्रचारको खण्डन गर्दै वामपन्थी शक्ति नै खासमा लोकतान्त्रिक शक्ति हो भन्ने स्पष्ट पार्ने कार्यक्रम तय भएको छ। 

यस्तै प्रदेश तथा जिल्ला तहमा संयुक्त भेलाको आयोजना गरी दुवै पार्टीबीच मैत्रीपूर्ण रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने कार्यक्रम दुवै पार्टीले सञ्चालन गर्ने प्रवक्ता भुसालको भनाइ छ। 

नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले देशव्यापी एकीकृत रुपमा चुनावी अभियान सञ्चालन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको र त्यसले निर्वाचनको वातावरण बनाउने बताए।

उनले पार्टी एकताको मूल मर्म र निर्वाचन सफल बनाउने दायित्वलाई ख्याल गर्दै दुवै पार्टीका शीर्ष नेताले सबै तहका नेता तथा कार्यकर्तालाई निर्देश गरेको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell