
संयुक्त राष्ट्रसंघ : विश्वमा एक वर्षमा दादुराले मृत्यु हुने विरामी एक लाखभन्दा कम भएको संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्घसंस्थाले जनाएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को खोप, जैविक तथा रोगप्रतिरक्षा विभागका निर्देशक जाँ म्यारी ओकोबेलेले तथा अन्तर्राष्ट्रिय दादुरा तथा रुवेला नियन्त्रणकारी संस्थाद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘हामीले दादुराका कारण मृत्यु हुनेको सङ्ख्यामा विगत दुई दशकको प्रयत्नपछि उल्लेख्य मात्रामा कमी ल्याउन सफल भएका छौँ। तर अब यसलाई शून्यमा झार्न थप प्रयास गर्नुपर्छ।’
अध्ययनका लागि राष्ट्रसंघ, यूनिसेफ, डब्लुएचओ, राष्ट्रसंघ फाउण्डेसन, अमेरिकी रेडक्रस, रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रले सन् २००१ मा सुरु गरेको अध्ययन प्रतिवेदनले गतवर्ष दादुराका कारण मृत्यु हुनेको सङ्ख्या ९० हजार मात्रमा सीमित गर्न सफल भएको जनाएको हो।
दादुराको उन्मूलनको लक्ष्य सवै बालबालिकामा दादुरा विरुद्धको खोप विश्वका सवै बालबालिकामा पुर्याउन सकेमात्र सम्भव हुने ओकोबेलेले बताए।
विश्वबाट दादुरा निर्मुल गर्ने अभियान अन्तर्गत सन् २००० देखि नियमित पाँच अर्ब ५० करोड खर्च गरिएको र यसले दुई करोड चार लाख बालबालिकाको जीवन जोगाउन सकिएको उनको दावी छ।
तर विश्व अझैपनि दादुरा नियन्त्रणका लागि तय गरिएको क्षेत्रीय लक्ष्य पूरा गर्न अझै नसकिरहेको विज्ञप्तिमा जनाइएको छ।
अझैपनि विश्वका दुई करोड आठ लाख बालबालिकाले दादुरा विरुद्धको खोप पाइनरहेका विज्ञप्तिमा छ। यसको आधाभन्दा बढी जनसङ्ख्या नाइजेरिया, भारत, पाकिस्तान, इन्डोनेसिया, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा रहेका बताइएको छ। रासस/सिन्ह्वा