
स्पेन : स्पेनको क्याटलोनिया संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ। स्वतन्त्रताको निर्णय लिने सन्दर्भमा भएको मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका छन्।
संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको छ भने विपक्षमा १० मत परेको छ। दुई सांसद्ले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेका बताइएको छ।
मतपरिणाम सुनेर क्षेत्रीय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुसी व्यक्त गरे भने मत परिणाम आएसँगै क्याटलोनियाको सेयर बजारमा भारी गिरावट आएको देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच, स्वतन्त्रताका पक्षमा क्याटलोनियाली संसदले मतदान गरेपछि प्रतिक्रिया दिँदै स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले सबै स्पेनी नागरिकलाई शान्त रहन आग्रह गरेका छन्। उनले क्याटलोनियामा विधिको शासन पुनः स्थापना गरिने बताएका छन्।
स्वतन्त्रताको पक्षमा गरिएको मतदानले स्पेनमा राजनीतिक संकट थप चर्किने देखिएको छ। राजधानी मड्रिडमा प्रधानमन्त्री मारिआनो राखोइले क्याटलान प्रशासनलाई भंग गर्न सिनेटको अनुमति मागेका छन्।
उनले सिनेटरहरुसमक्ष क्याटलोनियामाथि प्रत्यक्ष शासन गर्ने प्रस्ताव पेश गरेका छन् भने क्याटलान क्षेत्रका नेता कार्लेस पुज्डमोन, उनका उपराष्ट्रपति तथा सबै क्षेत्रिय मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रस्तावसमेत गरेका छन्।
प्रधानमन्त्रीको मागप्रति सिनेटमा समर्थन रहेको देखिएको छ। राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा ‘कानुन, प्रजातन्त्र र स्थायित्व’ फर्काउन आफूले कडा कदम चाल्नु परेको बताए।
स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो। रासस/सिन्ह्वा