PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

समानुपातिक सांसदमा विराटनगरका तीन व्यवसायीको आशा



अनन्तराज न्यौपाने

समानुपातिक सांसदमा विराटनगरका तीन व्यवसायीको आशा

विराटनगर : विराटनगरका ३ वरिष्ठ उद्योगी आगामी व्यवस्थापिका संसदको निर्वाचनमा समानुपाति तर्फबाट आकांक्षी देखिएका छन्।
दोस्रो जनआन्दोलनपछि लोकतन्त्रको स्थापनासँगै व्यावसायिक क्षेत्रबाट व्यवस्थापिका संसद् र संविधानसभामा प्रतिनिधित्व गराउने प्रचलन सुरु भएको थियो। विराटनगरका पवनकुमार शारडा, मोती दुगड र महेश जाजू समानुपातिकतर्फ सांसद्का उम्मेदवार हुन्।

शारडा यसअघि विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट समानुपातिकमा सांसद् थिए। गच्छदारको पार्टी नेपाली कांग्रेसमा गाभिएको छ। पार्टी गाभिए पनि शारडा आफू समानुपातिकतर्फबाट सांसद् चुनिने ढुक्क छन्।

कांग्रेसमा नेता गच्छदारले आफ्ना समर्थकका लागि समानुपातिकतर्फ बढीमा ६ सिट पाउने बताइएको छ। जसमध्ये पुरुषतर्फ २ जना हुनसक्ने र त्यसमा शारडा पर्ने सम्भावना बलियो भएको गच्छदार निकटका कार्यकर्ताले दाबी गरेका छन्।

गच्छदार कांग्रेस प्रवेश नगरेर आफ्नै लोकतान्त्रिक फोरममा रहेको भए उनको दलले देशभरिबाट ३ प्रतिशत मत प्राप्त गर्ने र कसैलाई समानुपातिकमा मनोनित गर्नसक्ने अवस्था हुने थिएन भन्ने दाबी विश्लेषकहरूले गरेका छन्। तर आफ्नै माउ पार्टीमा उनी फर्किएपछि दुई चार जनालाई समानुपातिकमा ल्याउन सक्ने हैसियतमा पुगेका छन्।

निवर्तमान सांसद् शारडा मोरङ व्यापार सङ्घका अध्यक्षसमेत हुन्। 

सांसद् शारडासँगै कांग्रेसबाटै अर्का उद्यमी एवम् व्यापार सङ्घका पूर्वअध्यक्ष महेश जाजूको नाम पनि समानुपातिकको कोटामा चर्चामा छ।

उद्यमी जाजूको नाम नेपाली काङ्ग्रेसले यसअघि २०७० सालको निर्वाचनमा पनि समानुपातिकको कोटाबाट पठाएको थियो। तर काङ्ग्रेस नेतृ सुजाता कोइराला लगायतका केन्द्रीय सदस्यले समर्थन नगरेपछि उनी तत्कालीन संविधान सभामा पुग्नबाट वञ्चित भएका थिए। 
यस पटकको निर्वाचनमा महेशलाई जसरी पनि समानुपातिकमा ल्याउनु पर्छ भनेर प्रधानमन्त्री देउवा पत्नी आरजूले अडान लिएको कांग्रेस स्रोतले जनाएको छ।

प्रधानमन्त्री शेरबहादुरसित पनि उद्यमी जाजूले २०७० को निर्वाचनदेखि नै मधुर सम्बन्ध राखेका छन्। यसप्रकार शारडा र जाजू दुवै व्यवस्थापिका संसद्मा पुग्ने सम्भावना बलियो हुँदै गएको छ। 

शिवरतन शारडाले नेतृत्व गरेको शारडा ग्रुपका पवन र आफ्नै नेतृत्वको जाजू ग्रुपका महेश दुवै जना व्यावसायिक साझेदारसमेत हुन्। प्रसिद्ध रमपम चाउको उत्पादक एसियन थाई फुड्सका लगानीकर्ता शारडा र जाजू नै हुन्। यसबाहेक गुडलाइफ ब्रान्डका बिस्कुट, डेरी मिल्क, चकलेट र जुसमा समेत दुवैको पार्टनरसिप छ।
 

मोतीको पनि बलियो छ सम्भावना 

पहिलो संविधान सभाको निर्वाचनमा नेपाल सद्भावना पार्टीबाट समानुपातिकमा चुनिएका उद्यमी मोती दुगडले २०७० को आमचुनावमा आइपुग्दा नवनेपाल निर्माण पार्टी नामको छुट्टै दल खोलेका थिए।

तर दोस्रो संविधान सभाको निर्वाचनमा उनको दलले अपेक्षाकृत सफलता हासिल गर्न सकेन। आफ्नो दलले ल्याएको मतको सहयोगबाट समानुपातिकतर्फ चुनिने दुगडको आकांक्षा पूरा भएन।

यसपछि उनले आफ्नो पार्टीलाई नेकपा एमालेमा विलय गराए। हाल उनी एमालेको केन्द्रीय सल्लाहकार छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीसित दुगडले बलियो सम्बन्ध बनाएका छन्।

दुगडको विराटनगरस्थित होटल ह्यारिसनको उद्घाटन पनि ओलीले नै गरेका थिए। विराटनगर आउँदा ओलीको बास ह्यारिसनमै हुन्छ।
सेन्चुरी ब्रान्डका मसला, भुजिया, कुरमुरे स्न्याक्स तथा होटलका समेत व्यवसायी रहेका दुगड आफू एमालेको समानुपातिक कोटाबाट व्यवस्थापिका संसद्मा पुग्ने कुरामा ढुक्क छन्।

‘शङ्कै छैन’, उनले भने, ‘एमालेका सबै उच्च नेताहरूले मलाई विश्वास दिलाउनु भएको छ।’ 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell