PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

‘हेभिवेट’का नाममा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गरेको महिला नेतृको गुनासो,  दबाबमूलक कार्यक्रम गर्ने



पहिलोपोस्ट

‘हेभिवेट’का नाममा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गरेको महिला नेतृको गुनासो,  दबाबमूलक कार्यक्रम गर्ने

काठमाडौँ :  विभिन्न राजनीतिक दलका महिला नेतृहरुले मुलुकका प्रमुख राजनीतिक दलले पार्टीभित्र शक्तिशाली पुरुष (हेभिवेट)को नाम देखाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा आफूहरुलाई उम्मेदवार बन्नबाटै पन्छाउने खेल भएको भन्दै आपत्ति जनाएका छन्।

‘आगामी निर्वाचनमा महिला सहभागिता’ विषयकमा अन्तरक्रियामा सहभागी महिला नेतृहरुले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा महिलाको प्रतिनिधित्वलाई सच्याउनका लागि दबाब दिन जुलुस र धर्नासम्मका विरोधका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए। 

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ८०७ जनाको उम्मेदवारी परेकामा त्यसमा महिला उम्मेदवार ४१ छ। तीमध्ये १८ जना प्रतिनिधिसभामा र २३ जना प्रदेशसभामा उम्मेदवार रहेकामा केही महिला उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो। 

नेपालको संविधानले ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चित गरेको छ। पहिलो चरणको निर्वाचनमा महिलाको सरदर उम्मेदवारी पाँच प्रतिशतको हाराहारीमा मात्र भएपछि महिला नेतृबाट त्यसप्रति आपत्ति व्यक्त भएको हो। 

मुलुकमा राजनीतिक परिवर्तन भए पनि नेताहरुमा महिलाप्रति हेर्ने दृष्टिकोणमा सुधार आउन नसकेको भनी चिन्ता व्यक्त गर्दै उनीहरुले महिलाको समस्या राज्यको सवालका रुपमा नबुझ्दा महिला प्रतिनिधित्व कमजोर देखिएको टिप्पणी गरे। 

नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले आगामी निर्वाचनका लागि पार्टीबाट ६० महिलाको नाम मागिएकामा जम्मा दुई जनालाई मात्र पहिलो चरणमा टिकट दिइएको जनाउँदै यस्तै अवस्था रहे अब कडा कदम चाल्न बाध्य हुने बताइन्। 

एमाले नेतृ शर्मिला कार्कीले राजनीतिक दलले महिलाका लागि अवसर नै नदिने हो भने प्रतिस्पर्धी क्षमता कसरी देखाउन सकिन्छ भन्दै जिल्ला तहबाटै महिला उम्मेदवारको नाम कटाउने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको बताइन्।

नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले महिलाको सवालमा दलभित्र संघर्षका आवाज उठाउँदा उठाउँदा हैरान भएको प्रसंग उल्लेख गर्दै निर्वाचन प्रणालीमै सुधार ल्याउन आवश्यक रहेको बताइन्। 

नेकपा मालेकी नेतृ नीलम केसीले राजनीतिक दलभित्र महिलाप्रति हेर्ने सोच र दृष्टिकोणमा सुधारको खाँचो रहेको भन्दै निष्ठा र इमानको राजनीति गर्नेलाई निकै अप्ठेरो अवस्था आएको बताइन्।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतदाता एक करोड ५४ लाख २७ हजार ९३५ मध्ये महिला ७६ लाख ५१ हजार १४१ छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell