
काठमाडौँ : उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण आज देशभरका पहाडी र पूवी तराई क्षेत्रमा बदली भएको छ।
पूर्वी भूभागको दक्षिण क्षेत्र सानो न्यूनचापीय क्षेत्र विकास भएको र पश्चिमी भूभागको उच्च वायु मण्डलमा न्यूनचापीय रेखा रहेकाले यसको प्रभावस्वरुप बदली भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
उनले भने,‘देशभर पहाडी क्षेत्रमा पूर्ण बद्ली छ जलवास्पयुक्त हावाको कमीले गर्दा एक/दुई स्थानमा मात्र पानी पर्ने सम्भावना छ।’ पूर्वी तराई भेगमा कमजोर न्यूनचापीय क्षेत्रको विकास भएकाले सामान्य बद्ली रहेको छ।
मौसमविद् अर्यालका अनुसार देशका पहाडी र मध्य तथा पूर्वी भेगमा अझै दुई दिन बद्ली रहनेछ। राति आकासमा बादल लागेकाले आज काठमाडौँको न्यूनतम तापक्रम बढेर १३.६ डिग्रिसेल्सियस पुगेको छ।
कात्तिकको पहिलो साता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौदेखि ११ डिग्रिसेल्यिससम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौँको न्यूनतम १३.६ र अधिकतम २६.६ डिग्रिसेल्सियस रहेको छ। सबैभन्दा कम जुम्लामा तीन र सबैभन्दा बढी सिमरामा र भैरहवामा ३० डिग्रिसेल्सियस रहेको छ। पूर्वका ओखलढुंगाललगायत पहाडी क्षेत्रमा वर्षात्को सम्भावना रहेको महाशाखाको अनुमान छ।रासस