
म्याड्रिड : स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्रका प्रहरी प्रमुखलाई पदमुक्त गरिदिएको छ। क्याटलोनियाको क्षेत्रीय संसद् र सरकारलाई भंग गरिएको घोषणा गरेको भोलिपल्ट केन्द्रीय सरकारले क्याटलोनियाका क्षेत्रीय प्रहरी प्रमुख जोसेफ लुइस त्रापेरोलाई बर्खास्त गरेको हो।
यसअघि क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेको थियो। घोषणाका लागि संसद्मा भएको गोप्य मतदानलाई एकताका पक्षधरले भने बहिष्कार गरेका थिए।
संसद्मा स्वतन्त्रताको पक्षमा ७० मत परेको छ भने विपक्षमा १० मत परेको छ। दुई सांसदले कुनै पनि पक्षमा मतदान नगरी मतपत्रलाई खाली खसालेका बताइएको छ।
प्रधानमन्त्री मारिआनो राखोइले क्याटलान प्रशासनलाई भंग गर्न सिनेटको अनुमति मागेका थिए। त्यसैगरी उनले सिनेटरसमक्ष क्याटलोनियामाथि प्रत्यक्ष शासन गर्ने प्रस्ताव पेश गरेका थिए भने क्याटलान क्षेत्रका नेता कार्लेस पुज्डमोन, उनका उपराष्ट्रपति तथा सबै क्षेत्रीय मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रस्तावसमेत गरेका थिए।
प्रधानमन्त्रीको मागको पक्षमा अत्याधिक बहुमत परेकाले उनको माग संसद्बाट पारित भएर लागू भएको हो। उनले आगामी डिसेम्बर २१ तारिखमा क्याटलोनिया क्षेत्रमा मध्यावधि चुनाव गराइने पनि बताएका छन्। स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो।
एकपछि अर्को गरी भइरहेका यी विवादस्पद कदमका कारण क्याटलोनिया गहिरो र लामो राजनीतिक संकटमा फस्ने देखिएको छ। (रासस/एएफपी)