चितवन : चितवनमा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ४०८ मतदान केन्द्र तोकिएको छ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र तोकिएका छन्। यसअघि स्थानीय तहको निर्वाचनमा जिल्लामा १६१ मतदानस्थलमा ३७६ मतदान केन्द्र तोकिएको थियो। अहिले भने ३२ मतदान केन्द्र थपिएको छ।
बिहीबार जिल्लामा तीनवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी यहाँ निर्वाचनको तयारी तीव्र पारिएको छ।
जिल्लाका ४०८ मतदान केन्द्रका लागि दुई हजार ८०० भन्दा बढी कर्मचारी परिचालन गर्ने तयारी रहेको ढकालले बताए। मंसिर १६ गते मनोनयन दर्तासँगै निर्वाचनको चहलपहल बढ्ने छ।
यसअघिको संविधान सभा निर्वाचनमा जिल्लामा पाँच निर्वाचन क्षेत्र रहेकामा यसपटक घटाएर तीन निर्धारण गरिएको छ। मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदै छन्। यसअघि स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता सहभागी भएका थिए।
स्थानीय तहको निर्वाचनभन्दा यस निर्वाचनमा ४१ हजार ३३ मतदाता थपिएका छन्। सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २५ हजार ८१८ मतदाता रहेका छन्। क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् ।
सो क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन्। क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेका छन्।
यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि ५, ७, १०, ११, १२ र २९ वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन्।रासस