PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

बिर्तामोडमा सर्वदलीय बैठकः मृतकका परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराउन गृहलाई अनुरोध गरिने



पहिलोपोस्ट

बिर्तामोडमा सर्वदलीय बैठकः मृतकका परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराउन गृहलाई अनुरोध गरिने

झापा : प्रहरीले चलाएको गोली लागरे मृत्यु भएका झापा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय नरेश थापाको परिवारलाई दश लाख रुपैयाँ राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ। 

आज बिर्तामोडमा बसेको सर्वदलीय वैठकले मृतकका परिवारलाई तत्काल राहतका लागि बिर्तामोड नगरपालिका, जिल्ला समन्वय समिति झापाले २५÷२५ हजार र बिर्तामोड उद्योग वाणिज्य संघले १० हजार दिने निर्णय गरेको हो। 

त्यस्तै मृतककी श्रीमतीलाई नगरपालिकामा रोजगारीको व्यवस्था मिलाउने निर्णय भएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। 

सर्वदलीय बैठकले योसँगै कात्तिक १० गते बिर्तामोड क्षेत्रमा घटित घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवाललाई छानबिन गरी प्रहरी नियमावलीबमोजिम आवश्यक कारबाही गर्न सिफारिस गर्ने, मृतक लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्युका सम्वन्धमा सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न अनुसन्धान सुरु गर्नेलगायत निर्णय भएको छ। 

त्यस्तै, असोज १४ र कात्तिक १० मा घटित घटनाका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयबाट गठित छानबिन समितिलाई सबै पक्षले सहयोग गर्ने, घटनामा घाइते हुनेलाई निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले गर्ने रहेका छन्। 

यसैगरी, बालक शिवाकोटीको मृत्युको विषयलाई लिएर भइरहेको विरोधका कार्यक्रम तत्काल स्थगित गर्ने र बिर्तामोड नगरपालिकामा हालको असामान्य अवस्थालाई सामान्यीकरण गर्न सम्बन्धित राजनीतिक दल जनप्रतिनिधि, संघ संस्थाहरू सञ्चारकर्मी, व्यवसायी, नागरिक समाजलगायत सबैमा अपिल गरिएको छ। 

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर थापाको शुक्रबार मृत्यु भएको थियो। 

शुक्रबार दिउन्सोबाट लगाइएको निषेधाज्ञा भने अझैं हटाइएको छैन। निषेधाज्ञा हटाइने विषयमा पुनः सुरक्षा समितिको वैठक बसेर निर्णय गरिने बताइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell