PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा त्रिशुली बस दुर्घटनाप्रति दुःख व्यक्त



पहिलोपोस्ट

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा त्रिशुली बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ : राष्ट्रपति र प्रधानमन्त्रीले धादिङमा भएको बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी–६, घाटबेँसीस्थित त्रिशुली नदीमा शनिबार विहान भएको यात्रु बस दुर्घटनामा परी जीवन गुमाएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। 

राष्ट्रपति भण्डारीले मृतकका शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

दुर्घटनामा परी बेपत्ता हुनेहरुको छिटो खोजी कार्य गर्नसमेत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाइटी तथा स्थानीयजनप्रति धन्यवाद दिएकी छन्। 

त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाले धादिङ बस दुर्घटनामा परी धेरै जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

प्रधानमन्त्री देउवाले धादिङको गजुरी नजिक बाङ्गेमोडमा बस दुर्घटना हुँदा धेरै यात्रुले ज्यान गुमाएको समाचारले आफूलाई अत्यन्तै मर्माहत र दुःखी बनाएको बताएका छन्। 

प्रधानमन्त्री देउवाले शोक सन्देश दिंदै घटनामा ज्यान गुमाउन पुगेका सबै यात्रुप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन्। उनले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

प्रधानमन्त्रीले उद्धार कार्यमा संलग्न स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बललाई थप प्रभावकारी खोज कार्य गर्दै हराइरहेका यात्रुको खोजी गर्न निर्देशनसमेत दिएका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell