काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सम्पूर्ण तयारी गरेर अघि बढेको बेला विभिन्न खाले आशंका गरेर प्रश्न उठाउनु व्यावहारिक नहुने बताएका छन्
आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोजित निर्वाचन र सुरक्षासम्बन्धी दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापन समारोहमा प्रमुख आयुक्त यादवले तोकिएकै मितिमा निर्वाचनलाई सफल तुल्याउन सम्पूर्ण व्यवस्थापकीय कार्य अघि बढाइसकिएको हुँदा निर्वाचनका बारेमा कुनै संशय नलिन आग्रह गरे।
उनले भने,“निर्वाचनलाई अघि बढाउने सिलसिलामा सम्मानित सर्वोच्च अदालतबाट आयोगलाई सहयोग र सावधानी गर्ने कार्य भएको छ, हामी त्यसप्रति उच्च सम्मान र आदर गर्दछौँ।”
उनले निर्वाचन र सुरक्षा एउटा सिक्काको दुई पाटा हुन, स्वच्छ, स्वतन्त्र, र भयरहित निर्वाचनका लागि खटिएका सुरक्षा फौजबाट निष्पक्ष, तटस्थ र इमान्दारी प्रदर्शन गर्न आवश्यक रहेको बताए।
निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहितरुपमा सफल तुल्याउन सुरक्षा निकायबीच समन्वय, सम्पर्क, सहयोग र सूचना आदान प्रदान गर्न निर्देशन दिए।रासस