PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

त्रिशुली बस दुर्घटना:  घाइते दुर्गानन्द भन्छन 'तीव्र गतिकै कारण दुर्घटना भयो'



सागर बुढाथोकी

त्रिशुली बस दुर्घटना:  घाइते दुर्गानन्द भन्छन 'तीव्र गतिकै कारण दुर्घटना भयो'

काठमाडौँ: राष्ट्रिय ट्रमा सेन्टरमा सप्तरीका दुर्गानन्द चौधरी र उनका छोरा अविशेक उपचाररत छन्। त्रिशुलीमा बस खसेर घाइते भएका उनीहरुलाई शनिबार नै एम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको हो।

दुर्गानन्दको टाउकोमा चोट लागेको छ। हात क्षत-विक्षत भएको छ। देब्रे खुट्टामा ब्यान्डेज बाँधिएको छ। शरीरका सबै अंग सिसाले कोरेको छ।

छोरा अविशेकको अवस्था उस्तै नाजुक छ। रवि बोल्न समेत सक्दैनन्। दुर्गानन्द घटना सम्झने स्थितिमा छैनन्। त्यो भयानक दुर्घटना उनी सम्झन समेत चाहँदैनन्।

राजबिराजबाट ना ६ ख १४६६ नम्बरको बस चढ्दा बसमा कुनै सिट खाली थिएन्।

पेशाले वकिल रहेका चौधरीको आइतबार (आज) सर्वोच्चमा बहसमा जानु पर्ने थियो।  जसरी पनि काठमाडौँ आउनु पर्ने बाध्यता भए पनि छठलगत्तैको यात्रुको चापले बसको टिकट पाउने सम्भावना थिएन्।

दुर्गानन्दको आग्रहपछि ड्राइभर पछाडिको सिट पाए। राजविराजबाट साँझको पौने सात बजे गाडी हिँड्यो।

हेटौँडा नपुग्दै बीच बाटोमै गाडी चेन्ज भयो। काठमाडौँबाट गएको गाडीले राजविराजबाट ल्याइका यात्रु हालेर काठमाडौँ नै फर्कियो। राजबिराजबाट आएको बस राजबिराज नै फर्कियो।

दुर्गानन्द भन्छन्, ‘गाडी चेन्ज गर्नु नै हाम्रो दुर्भाग्य थियो।’

ना ६ ख १४६६ नम्बरको बस चढेका दुर्गानन्द ना ६ ख १४६७ नम्बरको 'सन्देश डिलक्स'कै बसमा सिफ्ट भए।

दुर्गानन्द भन्छन्,  ‘हामी चढेको गाडी काठमाडौँ र काठमाडौँबाट गएको गाडी राजविराज गएको भए कुनै पनि दुर्घटना हुँदैन थियो। यत्रो धेरै मान्छे मर्नुको कारण नै गाडी चेन्ज गर्नु हो।’

जब गाडी चेन्ज भयो तब, गाडी तीब्र गतिमा गुढ्न थाल्यो। अप्ठ्यारो बाटोमा गाडीको स्पिड धेरै भएपछि यात्रुहरुले चालकलाई गाली गरेको उनी सुनाउँछन्। भन्छन्, ‘जति गाली गरे पनि ड्राइभरले सुनेनन्।’

‘गाडी कुदाउँने शैली र चालकले यात्रुहरुले भनेको नसुनेको देख्दा चालकले मादक पदार्थ सेवन गरेको सबैले शंका गरेका थिए। किनकी, यात्रुहरुले जे भन्दा पनि उनी चूप थिए। गाडी स्पिडमा चलाउँथे।’ उनी भन्छन् ‘बरु चालकलाई कुनै मानसिक तनाव थियो कि! उनको शैली मादक पदार्थ सेवन गरेको भन्दा पनि ठूलै टेन्सनमा परेको जस्तो थियो।’

यात्रुहरुले गाली गर्दागर्दै पिसाब फेर्न गाडी रोकिएको थियो। त्यसपछिको केही छिनमा गाडीबाट ठूलो आवाज आयो।  दुर्गानन्द सम्झन्छन् ‘ रोडमा यात्रा गरिरहेको हामी पानीमा थियौँ। पेटमा पानी पसिसकेको थियो। बाँच्ने आश थिएन्। तर, क्याबिनको सिसा बल्लतल्ल फुटाएर पानीबाट पौडिएर निस्केँ।’

पानीबाट निस्केपछि छोरा अविशेकको याद आएको दुर्गानन्द सुनाउँछन्। बाहिर निस्कदा छोरा थिएन्। उनले केही तल मान्छे जम्मा भएको देखे। त्यहाँ पुग्दा छोराले पनि उनलाई खोजिरहेका थिए।

दुर्गानन्द पानीबाट निस्किएको आधा घण्टापछि प्रहरी आएको बताउँछन्। घटनास्थलमा अरु घाइते पनि थिए। बस पानीमै थियो। प्रहरीले उनीहरुलाई धादिङको गजुरी उपचारको लागि पठायो।

गजुरीबाट दुर्गानन्द र उनको छोरालाई राष्ट्रिय ट्रमा सेन्टर पठायो। अहिले उनीहरुको उपचार त्यहीँ भइरहेको छ। उनी घटना चालकको लापरबाहीले भएको सुनाउँछन्।

कति मरे,  को कहाँ छन्  र के भइरहेको उनीलाई जानकारी छैन्। भन्छन्, ‘अस्पतालले उपचार खर्च आफैले बेहोर्नु भनिसकेको छ। डिस्चार्ज गर्ने कुरो छ। ठीक नभइकन डिस्चार्ज गर्दा कहाँ बसेर के गर्नु।'

शनिबार बिहान ५ बजेर ५५ मा गजुरी गाउँपालिका–५ पोखरे खोलास्थित बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा ३१ जनाको घटानस्थलमै मृत्यु भएको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell