
विराटनगर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नम्बर प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताएका छन्।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पारे।
अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विचार र विषय नमिल्नाका कारण नै संयुक्त मोर्चा गठन नभएको तर निर्वाचनका लागि कांग्रेस लचिलो भएमा तालमेल हुन सक्ने बताए।
उनले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्नेसहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली कांग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताए।
अर्को प्रसङ्गमा अध्यक्ष यादवले नेकपा एमाले र नेकपा माओवादीकेन्द्रको गठबन्धन राष्ट्रविरोधी नभएको तर यसले लोकतन्त्रलाई संस्थागत गरी समाजमा रहेको विभेदलाई अन्त्य गरी सामाजिक न्याय कायम गरेमा मात्र गठबन्धन सफल हुने बताए।
अध्यक्ष यादवले अहिलेसम्म आफूले मोरङ, सुनसरी र सप्तरी कुन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारी दिने सम्बन्धमा निश्चित नभएको जानकारी दिए।
अध्यक्ष यादवले निर्वाचन आयोगले आफू स्वतन्त्र छु भन्ने विश्वास जनतामा दिलाउन तोकिएको समयमै स्वतन्त्र, सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने दायित्व निर्वाह गर्नुपर्ने बताए।रासस