PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

त्रिशुली बस दुर्घटनामा मृत्यु भएका कांग्रेस नेता यादवको अन्त्येष्टि



पहिलोपोस्ट

लहान :  त्रिशुली बस दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजकपुर यादवको आज बिहान गृहनगर सिरहाको गोलबजार नगरपालिका– ८ स्थित चोहर्वामा अन्त्येष्टि गरिएको छ। 

छठ सकिएलगत्तै शुक्रबार साँझ आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट टिकट पाउने आशामा रात्रि बस चढेर काठमाडौं हिँडेका नेता यादव शनिबार ना ६ ख १४६७ नम्बरको बस त्रिशूलीमा खस्दा उनीसहित ३१ जनाको मृत्यु भएको हो। 

यादवको शव आफन्तले गएराति नै ल्याएका र आज बिहान हिन्दू परम्परानुसार अन्त्येष्टि गरिएको कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले जानकारी दिए। 

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं ३ (ख) बाट यादवको नाम सिफारिस भएको र त्यही सिलसिलामा काठमाडौं जाने क्रममा दुर्घटनामा परी उनको मृत्यु भएको थियो। यादवका श्रीमती र दुई छोरा छन्। 

यादवको मृत्यु भएपछि सिरहाको गोलबजार नगरपालिका– ८ चोहर्वाका बासिन्दा शोकमा डुबेका छन्। ‘यादव अलग धारको पार्टीका नेता भए पनि कसैको आँखामा नबिझाउने व्यक्ति थिए’ वडा अध्यक्ष राजदेव यादवले भने,‘बस दुर्घटनामा मृत्यु भएको खबर पाए पनि तत्काल विश्वास गर्न सकिरहेका थिएनौं, शव आएपछि मात्र विश्वास भयो।’ 

यस्तै छठ मनाएर छोराछोरीलाई काठमाडौँमा पढ्नका लागि पुर्याउन सोही बसमा हिँडेकी सिरहाको लहान – १ सिङराहिकी प्रभा चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन। आमासँगै दुर्घटनामा परेकी उनकी छोरी निविदिता र छोरा सुगमको भने उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell