PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‌‍ओखलढुङ्गामा कसको राज? रामहरि कि यज्ञराज?



रमेश वाग्ले

‌‍ओखलढुङ्गामा कसको राज? रामहरि कि यज्ञराज?

काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओखलढुङ्गाबाट नेपाली कांग्रेसका रामहरि खतिवडा र नेकपा एमालेका यज्ञराज सुनुवारबीच भिडन्त हुँदैछ। युवा नेताका रुपमा स्थापित यी दुवै नेता २०७० सालको निर्वाचनबाट प्रत्यक्षमा जितेर संसद बनेका हुन्। संसद भित्र प्रभावशाली सांसदको छवि बनाएका यी दुवैको राजनीतिक पृष्ठभूमिले धेरै ध्यान ओखलढुङ्गातर्फ खिचिएको छ।
 
२०७० सालको संविधानसभा निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्र हुँदा कांग्रेस र एमाले एक एक ठाउँ विजयी भएका थिए ओखलढुङ्गाबाट। क्षेत्र नम्बर-१ बाट यज्ञराज सुनुवार र क्षेत्र नम्बर-२ बाट कांग्रेसका रामहरि खतिवडाले संविधानसभामा प्रतिनिधित्व गरेका थिए। संविधान अनुसार २ सय ४० निर्वाचन क्षेत्रबाट घटाएर १ सय ६५ कायम गर्दा ओखलढुङ्गा जिल्लामा एकमात्र निर्वाचन क्षेत्र कायम भयो। त्यसपछि दुवैका लागि भिडन्त गर्ने थलो एकमात्र कायम भयो। रामहरि र यज्ञराज मध्ये चुनावबाट एकमात्र म्यानमा अटाउने तरबार हुुने निश्चित छ।

अहिले ओखलढुङ्गाका चोक चौतारामा मात्र हैन राजधानीकै चियापसलमा समेत रामहरि खतिवडा र यज्ञराज सुनुवारमा कस्ले बाजी मार्ला भन्ने चर्चा हुने गरेको छ। काठमाडौंमै बसेर विद्यार्थी राजनीतिमा प्रभाशाली छवि  बनाएका हुनाले पनि यी दुईमाथि धेरैको नजर टिकेको छ। रोचक त के भने रामहरि खतिवडाले जित्ने आंकलन गरिरहेका धेरै जना हालैको स्थानीय तहको निर्वाचनमा कांग्रेस एमाले र माओवादीले पाएको मतको जोड घटाउ गरेपछि जिब्रो टोक्छन्। 

स्थानीय तह निर्वाचनमा ओखलढुङ्गामा पहिलो भएको नेपाली कांग्रेसले २६ हजार एक सय ४ मत प्राप्त गरेको छ। दोस्रो स्थामा रहेको एमालेले २३ हजार सात सय ८८ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा खुम्चिएको माओवादीको ९ हजार ६ सय ७८ मत ल्याएको छ। कांग्रेस पहिलो स्थानमा भएर पनि एमाले-माओवादी कम्युनिष्ट गठबन्धनको मत जोड्दा ३३ हजार ४ सय ६६ मत हुन आउँछ। पछिल्लो समयमा थपिएका मतदाताको हिसाब छोडिदिने हो भने पनि कम्युनिष्ट गठबन्धनको मत जोड्दा ७ हजार ३ सय ६२ मत बढी देखिन्छ।

तर, निर्वाचन त्यस्तो सोझो हिसाबले अघि नबढ्ने हुँदा गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार ढुक्क हुने अवस्था छैन। रामहरि खतिवडा कम्युनिष्ट मतदातामाझ उत्तिकै लोकप्रिय हुनु, प्रदेशमा उम्मेदवारहरु खतिवडा जत्तिकै बलिया र लोकप्रिय हुनु तथा नेपाली कांग्रेस निकटकै मतदाता धेरै हुनुले पनि सुनुवार ढुक्क हुन सकेका छैनन्। 

रामहरि खतिवडा र यज्ञराज सुनुवार दुबै विद्यार् राजनीतिको पृष्ठभूमिबाट आएका हुन्। नेपाल ल क्याम्सपमा पढ्नुअघि देखि विद्यालयबाटै नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध खतिवडा २०४२ सालमा कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा समेत विद्यार्थी फाँटबाट सहभागी भएर जेल परेका थिए।

२०५१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएका खतिवडाको विद्यार्थी राजनीति त्यही पूर्णविराम लाग्यो।
त्यसपछि खतिवडाले पार्टीको जिल्ला कार्यसमितिका विभिन्न जिम्मेवारी सम्हाले।
 
कांग्रेस ओखलढुंगाका सबैभन्दा प्रभावशाली नेता तथा २०१६ सालका सांसद बलबहादुर राई २०४८ सालमा मन्त्री हुँदा सहयोगी रहेका खतिवडा त्यही समय देखि कांग्रेसको राजनीतिमा जम्न थालेका हुन्। खतिवडा कुनै पदमा नभएका वेला समेत राजनीतिमा सधै भूमिकामा रहिरहने पात्र हुन्।

२०४६ सालमा विद्यार्थी आन्दोलनमा बहुदलको पक्षमा उभिएर बरुणेश्वर मावि रामपुरबाटै विद्यार्थी राजनीतिमा होमिएका यज्ञराज रत्न राज्यलक्ष्मी क्याम्पसमा विद्यार्थी भएर भित्रिएपछि थप सफल भए। 
 
अनेरास्वियुको प्रभाव क्षेत्र मानिने रत्नराज्यलक्ष्मी क्याम्पसबाट उदाएका यज्ञराजले एमालेको भातृ संगठनको नेतृत्वका लागि अनेरास्ववियु अध्यक्षमा थोरै मतले मात्र राजेन्द्र राईसँग पराजय भोगेका थिए।
 
अनेरास्ववियुको नेतृत्व नपाएपछि पार्टी राजनीतितर्फ लागेका यज्ञराज लगत्तै ओखलढुंगा जिल्ला सचिव भए। पार्टी अध्यक्षात्मक प्रणालीमा गएपछि एमाले ओखलढुंगाको अध्यक्ष भएका यज्ञराज सभासद भइसकेपछि नवौ महाधभिवेशनबाट एमालेको केन्द्रीय सदस्य समेत निर्वाचित भएर आफूलाई बलियो रुपमा स्थापित गर्न सफल छन्।
 
 

दुई पार्टीका प्रदेश उम्मेदवार

प्रदेश नम्बर-का उम्मेदवार

नेपाली कांग्रेसले प्रदेशतर्फ मित्रसेन दाहालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले अम्बिरबाबु गुरुङलाई। आर्थिक हैसियत गुरुङ-दाहालबीच  आकाश जमीनको अन्तर छ। भने राजनीतिक रुपमा ठीक उल्टो। सधैजसो आर्थिक मामिलाबाट नै चर्चामा आउने गुरुङले गएको तिहारमा मात्र ओखलढुंगाको एउटै द्यौसी टोलीलाई २ लाख ६० हजार दक्षिणा दिएर चर्चा कमाए।
 
नेकपा एमालेबाट विभाजित भएर माले गठन भएका वेला ओखलढुङ्गा क्षेत्र नम्बर-१मा उम्मेदवार बनिसकेका गुरुङ राजनीतिक भन्दा पनि आर्थिक समाजसँग नजिक छन्। नेकपा एमाले गुरुङको राजनीतिक प्रभाव भन्दा ज्यादा आर्थिक प्रभाव रहेको छ। 

तर, दाहाल कांग्रेसमा भन्दा पनि ज्यादा ओखलढुंगामा प्रभाव राख्छन्। समाजसेवाको पृष्ठभूमिका दाहालले जेपी प्रतिष्ठान मार्फत् ओखलढुङ्गाका करिब २ हजार बढी विद्यार्थीलाई गरिव तथा जेहेन्दार छात्रबृत्ति मार्फत् पढाएका छन्। काठमाडौंको लप्सीफेदीमा 'मैत्री सेवाश्रम' नामक जेष्ठ नागरिक ग्राम बनाएका छन्।  दाहालको मैत्री सेवाश्रमलाई मन पराएर नेपाल सरकारले नमुना जेष्ठ नागरिक ग्राम त्यसलाई नै मानेर 'पार्टनरसीप' गरिरहेको छ। 

 

प्रदेशतर्फ क्षेत्र नम्बर-२ का उम्मेदवार

प्रदेश तर्फ क्षेत्र नम्बर-२मा नेपाली कांग्रेसले दुई कार्यकाल पार्टीको नेतृत्व गरिरहेका सभापति प्रदीपकुमार सुनुवारलाई उम्मेदवार बनाएको छ भने कम्युनिष्ट गठबन्धनले माओवादीका स्थानीय नेता मोहन खड्कालाई उम्मेदवार बनाएको छ। 

कांग्रेस सभापति सुनुवार स्थानीय रुपमा काम गरेका कारण धेरैका लागि परिचित अनुहार हुन् तर उनले आफ्नो घर क्षेत्र नम्बर-१ मा भएर पनि प्रदेश दुईमा क्षेत्र नम्बर-२मा आएको भन्दै तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दाली राईले बागी उम्मेदवारी दिएका छन्।
 
स्थानीय तह निर्वाचनमा सबै स्थानीय तह जितेको कांग्रेस क्षेत्र नम्बर-१मा भन्दा पनि बलियो र सुरक्षित मानिने यो क्षेत्र त्यही कारण शंकाको घेरामा छ। त्यसको असर प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडालाई परेमा यज्ञराज सुनुवार बलियो हुने समिकरण देखिन्छ। तर, खतिवडा निर्वाचनअघि रुमदालीलाई बसाउने र नसके आफ्नो पक्षको मत पनि बिग्रन नदिने ध्याउन्नमा छन्।
 
माओवादीको मत ओखलढुङ्गामा एकदमै काम रहेको र एमाले र कांग्रेससँग भन्दा पनि जनस्तरमै द्वन्द्व भएका कारण पनि उनलाई गाह्रो देखिएको छ।
 
युद्धकालमै एमाले निकटका शिक्षक गुरु लुइटेलको हत्या गरिएको, कांग्रेस निकटका झिलबहादुर कार्की र टीका भट्टराईको हत्या भएको तथा युद्ध पछि पनि एमालेका तात्कालीन जिल्ला सचिव छवि कार्कीको हत्याको आरोप माओवादीलाई लागेका कारण गठबन्बन्धनको भोट एकोहोरिन सक्छ वा सक्दैन भन्ने एकिन गर्ने वातावरण बनिसकेको छैन। झन् सर्वोच्च अदालतले उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहरी गरी जन्मकैद फैसला सुनाएका तर माओवादीमा लोकप्रिय रहेका पूर्व सभासद बालकृष्ण ढुंगेल पनि खुलेर मत माग्न सक्ने अवस्था छैन।

त्यसले यज्ञराजलाई गठबन्धनको एकमुष्ठ साथ रहन्छ रहँदैन भन्ने स्पष्ट छैन भने उनका प्रदेशतर्फका सहयोगी समेत कमजोर देखिएका छन्। 

तर प्रदेशतर्फका उम्मेदवार अम्बिरबाबुको आर्थिक प्रभाव र गठबन्धन जम्न सक्यो भने स्थानीय तहको मतका आधारमा उनको जीत सहज देखिन्छ। 
   
  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell