भीमदत्तनगर : आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका साथै यहाँका ६ वटै प्रदेश सभाका लागि उम्मेदवार टुंगो नलागे पनि निर्वाचन गतिविधि अगाडि बढाउन कांग्रेस जिल्ला कार्यसमितिले जिम्मेवारीसमेत प्रारम्भिक चरणमा बाँडफाँट गरिसकेको छ ।
केही दिनअघि मात्रै कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाको उम्मेदवारमा पार्टी केन्द्रीय सदस्य नारायणप्रकाश साउद र निर्वाचन क्षेत्र नं ३ मा अर्का केन्द्रीय सदस्य रमेश लेखकलाई उम्मेदवार बनाएसँगै चुनावी प्रचारप्रसारलाई नेताहरुले अघि बढाएका छन्।
प्रदेश नं ७ सुदूरपश्चिमको राजनीतिमा राम्रो प्रभाव रहेका नेताद्वय साउद र लेखकले उम्मेदवारको टुंगो लाग्नुअघि देखि नै आफ्नो निर्वाचन क्षेत्रमा दौडधूप शुरु गरिसकेका थिए।
कांग्रेस जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले जिल्लाभरको निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा पार्टीबाट जिल्ला सदस्यलाई जिम्मेवारी दिएर निर्वाचनका लागि खटाइसकेको जानकारी दिए। त्यसका साथै भ्रातृ संगठन परिचालनका लागिसमेत कांग्रेसले नेतालाई जिम्मेवारी दिइसकेको छ।
यसअघि कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसले बाजी मारेको थियो। अघिल्लो पटकको जितलाई कायम राख्न कांग्रेस नेता सक्रिय भएर लागेका छन्।
त्यसैगरी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन भने कञ्चनपुरको निर्वाचन क्षेत्र बाँडफाँटकै विषयमा छलफलमा छ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ लाई एमाले र माओवादीले आ–आफ्नो दाबी गर्दै छाड्न नचाहेकाले जिल्लामा उम्मेदवार टुंग्याउन ढिलाइ भएको हो।
एमालेका उपसचिव रणबहादुर महराले कञ्चनपुरका तीन मध्ये दुईवटा निर्वाचन क्षेत्र एमाले र एउटा निर्वाचन क्षेत्र माओवादीलाई दिने शीर्ष तहमा सहमति भइसकेको जानकारी दिए।
‘यहाँको निर्वाचन क्षेत्र नं १ माओवादीलाई दिने भन्ने भएको छ’ एमाले उपसचिव महराले भने,‘निर्वाचन क्षेत्र नं २ र ३ एमालेको भागमा परेको छ ।’ उनले निर्वाचन क्षेत्र टुंगो लागे पनि पार्टीबाट बन्ने उम्मेवारको भने टुंगो नलागेको बताए।
उनका अनुसार सोमबारभित्र उम्मेदवारको टुंगो लागेपछि जिल्लामा चुनावी गतिविधिलाई तीव्रता दिइने छ। त्यसैगरी माओवादी केन्द्रका कञ्चनपुर संयोजक वीरबहादुर थापाले माओवादीलाई यहाँको निर्वाचन क्षेत्र नं १ भागमा परेको आधिकारिक घोषणा नभएको बताए।
निर्वाचन क्षेत्र नं १ माओवादीको भागमा परे सो पार्टीबाट नेतृ बिना मगर उम्मेदवार बन्ने प्रवल सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ। वाम गठबन्धनका उम्मेदवारका आकांक्षी यतिबेला राजधानीमै छन्।रासस