PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

जितपुरसिमराका बासिन्दाले देउसीको रकम फोहोर व्यवस्थापनमा लगाए



पहिलोपोस्ट

जितपुरसिमराका बासिन्दाले देउसीको रकम फोहोर व्यवस्थापनमा लगाए

वीरगञ्ज : जितपुरसिमरा उपमहानगरपालिकाका बासिन्दाले देउसीबाट संकलन भएको ८० हजार रुपैयाँ फोहरमैला व्यवस्थापनमा लगाउने भएका छन्।

वडा नम्बर १६ सखुवाघाटका स्थानीय नवयुवा टोल विकास संस्थाका युवाले तिहारमा खेलेको देउसीको रकम सरसफाईमा खर्चेका हुन्। युवाहरुले फोहोर नियन्त्रणका लागि सो रकमबाट गाउँको विभिन्न चोकमा १६ वटा डस्टविन राखेका छन्।

संस्थाले शनिवार साँझ जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलको उपस्थितीमा डस्टविन राखेका हुन्। कार्यक्रममा बोल्दै नगर प्रमुख डा. पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै फोहोर व्यवस्थापनका लागि युवाहरुले देखाएको सक्रियताको प्रशंसा गरे।

देउसीबाट संकलित रकम पिकनिक र मनोरञ्जनमा खर्चिने विकृती भएको बेला समाजका निम्ति खर्चिने सोचबाट आफू प्रभावित भएको भन्दै डा. पौडेलले सबैले यस्तो कामको अनुशरण गर्नुपर्ने बताए।

फोहोर संकलनका लागि डस्टविन राखिएको प्रति खुसी व्यक्त गर्दै नगर प्रमुख डा. पौडेलले उक्त डस्टविनमा प्लाष्टिक जन्य वस्तु र नकुहिने फोहोर राख्नका लागि अनुरोध गरेका छन्। फोहोर व्यस्थापनका लागि उपमहानगरले योजनासहित अघि बढिरहेको भन्दै तत्कालका लागि कुहिने फोहोर घरको बारीमा खाल्डो खनेर राख्न सकिने र नकुहिने फोहोरलाई डस्टविनमा राख्दा दुर्गन्ध कम हुने र डस्टविनसमेत सुरक्षित हुने बताए।

कार्यक्रममा बोल्दै वडा नम्बर १६ का वडाअध्यक्ष केदार बजगाईले युवाहरुले फोहोर व्यवस्थापनका लागि शुरु गरेको अभियानमा आफ्नो पूर्ण साथ रहने बताए। डस्टविनमा संकलन भएको फोहोर उठाएर अन्यत्र लैजान र फोहोर व्यवस्थापनका लागि अझ सशक्त ढंगले अघि बढ्ने बताए। कार्यक्रममा सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवाका प्रहरी उपरिक्षक नरबहादुर खत्री, क्लबका संयोजक पराजय रानालगायतको उपस्थिती रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell