PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

'लम्फू' फिल्म प्रचारमा तरकारीवाली, अन्ततः कुसुम श्रेष्ठ फिल्ममा भएको खुलासा



पहिलोपोस्ट

'लम्फू' फिल्म प्रचारमा तरकारीवाली, अन्ततः कुसुम श्रेष्ठ फिल्ममा भएको खुलासा
कुसुमको भाइरल भएको फोटो

काठमाडौं: सामाजिक सञ्जालमा 'तरकारीवाली'को रुपमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई फिल्म 'लम्फू'मा देख्न सकिने निश्चित भएको छ। कुसुम स्वयंले 'लम्फू'मा अभिनय गरेको बताएकी हुन्। उनले फिल्मबाट प्राप्त रकम अनाथ आश्रममा सहयोग गरेको समेत जानकारी दिएकी हुन्।

'मैले पनि समाजको लागि केही गर्नुपर्छ भन्ने लागेर अनाथ-असहाय बालबालिकामा खर्च गरेकी हुँ', कुसुमले भनिन्, 'यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु'।

तरकारीवाली उपनामले कुसुम चर्चामा आएसँगै फिल्म लम्फु युनिटले उनलाई मास्टर्ससम्मको पढाईका लागि छात्रवृत्ति प्रदान गरेको थियो। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा कार्यक्रम आयोजना गरी फिल्म निर्माता कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ का लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको हो।

त्यस्तै, काठमाडौंको बबरमहलस्थित नेपाल मेघा कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ति प्रदान गरिने भनिएको थियो। साथै सोही समय उनलाई लम्फूमा अभिनय गराउने भनियो। तर कास्टिङ घोषणाको लिस्टमा उनको नाम थिएन। त्यस्तोमा निर्देशकले पहिलोपोस्टसँगको कुराकानीमा भनेका थिए,'उनी अहिले पढ्ने मनसायमा छिन्। फेरी हामीले सुहाउँदो पात्र भए उनलाई फिल्म खेलाउने भनेका हौं। हिरोइन बनाउने भनेका होइनौं।' पुन: उनी फिल्ममा रहेको खबर दिंनुलाई फिल्म प्रचारको माध्यम बनाइएको हुनसक्छ।

हाल कुसुमले फिल्म छायांकन गत वर्ष सकिए पनि फिल्ममा आफ्नो भूमिका रहेको खबर लुकाएको जनाएकी हुन्। 'फिल्ममा मेरो भूमिका के छ भन्ने जान्नको लागि चाहिं फिल्म नै हेर्नुपर्छ।'

सन् २०१३ मै फिल्म युनिट फाइनल लाइनअप सकिएको भन्दै प्रि प्रोडक्शनको काममा लागेको थियो। तर अहिले बल्ल फिल्मको छायांकन सकिएको खबर सार्वजनिक हुँदैछ। पपुलर मल्टिमिडियाका लागि शक्तिबल्लभ घोरासैनीले निर्माण गरेको 'लम्फू'मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell