
काठमाडौं : नेपालमा अवैध लागूऔषध कारोबार गर्ने कैदीबन्दीको संख्या सबैभन्दा बढी रहेको छ।
कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार नेपालका ७२ जिल्लाका ७४ कारागारमा रहेकामध्ये तीन हजार ३८० कैदीबन्दीले लागूऔषध कारोबारसम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका छन्।
विभागका महानिर्देशक कृष्णप्रसाद घिमिरेले १८ हजार ३३६ कैदीबन्दीमध्ये सबैभन्दा धेरै लागुऔषध कारोबारी रहेको जानकारी दिए। उनले भने,‘पछिल्लो समय अवैधरुपमा लागूऔषध कारोबार गर्ने र कारागार जीवन बिताउने कैदीबन्दीको संख्या बढ्दो छ।’
यस्तै, करणीका तीन हजार २५५, कर्तव्य ज्यानका दुई हजार २४३, ज्यान मार्ने उद्योगका ५२७, अपहरणका ४६३ र ठगी मुद्दाका ४४० जनाले कारागार जीवन बिताइरहेका छन्।
सरकारले लागूऔषध, करणी, जीउ मास्ने, कारागारबाट भाग्ने, भ्रष्टाचारी, सरकारी कागजातको कीर्ते, यौन हिंसा, संगठित अपराध, संरक्षित वन्यजन्तुलगायतका २४ थरीका मुद्दामा आरोपितले तोकिएको समयसम्म कारागार जीवन बिताउनुपर्ने र त्योभन्दाबाहेकका घटनाका मुद्दामा ६० प्रतिशतसम्म कैद मिनाह गर्न सकिने व्यवस्था गरेको छ।
भक्तपुर, सिरहा र धनुषामा कारागार छैन। कारगार भएका जिल्लामा एक हजार १७ जना विदेशी र एक हजार २९७ महिला कैदीबन्दी रहेको विभागले जनाएको छ।रासस