रियल मड्रिडले यस सिजन स्पानिस ला लिगामा दोस्रो हार बेहोरेको छ। एक गोलको अग्रता जोगाउन नसक्दा रियल नवप्रवेशी गिरोनासंग २-१ ले पराजित भएको हो।
खेलको १२औँ मिनेटमै इस्कोले रियललाई अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन। उता यसै सिजन ला लिगामा बढ्वा भएको गिरोनाले रोनाल्डो र बेन्जामा जस्ता स्टार खेलाडी भएको जिदानको टिम विरुद्ध शानदार पुनरागमन गर्दै जित निकाल्यो।
दोस्रो हाफमा चार मिनेटको अन्तरमा गिरोनाले दुई गोल गर्यो। त्यसका लागि क्रिस्टियन स्तुअनीले ५४औँ तथा र क्रिस्टियन पार्तोले ५८औँ मिनेटमा एक-एक गोल गरे।
जारी सिजन गिरोनाको १० खेलमा यो तेस्रो जित हो र १० खेलबाट १२ अंक जोडेको गिरोना ११औँ स्थानमा उक्लेको छ।
यता हारपछि रियलले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको भ्यालेन्सियासंग अंक दूरी कम गर्ने मौका गुमाएको छ।
रियल शीर्ष स्थानको बार्सा भन्दा ८ अंकले पछि छ। ११ खेलबाट २८ अंकका साथ बार्सा शीर्ष स्थानमा आसिन छ भने समान खेलबाट २४ अक जोडेको भ्येलन्सिया दोस्रो स्थानमा छ। रियल २० अंकका साथ तेस्रो स्थानमा यथावत छ।
गोल अन्तरमा पछि परेको एथ्लेटिको २० अंक जोडेपनि चौथो स्थानमा छ।