काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सोमबारसम्म प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको उम्मेदवारी टुङ्ग्याउने भएका छन्।
आइतबार बसेको पार्टी एकता संयोजन समिति र उम्मेदवार छनोट समितिको संयुक्त बैठकले सोमबारसम्म सबै तहको उम्मेदवार टुङ्ग्याउने निर्णय गरेको हो।
दुई जिल्लाका केही क्षेत्रमा उम्मेदवारीको विषयलाई टुङ्ग्याउन बाँकी रहेको जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले अरु क्षेत्रमा भने सहमति भएको जानकारी दिइन्।
उनले आज प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको अन्तिम टुंगो लगाउने कार्यक्रम रहेकाले प्रत्यक्षतर्फको उम्मेदवारी छनोटलाई अन्तिम रुप दिन नसकिएको बताइन्।
समानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन आज दुवै पार्टीका शीर्ष नेता व्यस्त रहेका थिए। नियमितजसो छलफल गरेर उम्मेदवारको विषयमा लगभग अन्तिम निष्कर्षमा पुगिएको बताइए पनि कुनै निर्णय भने सार्वजनिक गरिएको छैन। उता उम्मेदवार छनोटको विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी छ।
एमाले प्रचार विभागका सचिव विष्णु रिजालले सातै प्रदेशका समानुपातिकतर्फका उम्मेदवारको टुंगो लागेको र प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारको विषयमा छलफल जारी रहेको र आजै राति अबेरसम्म टुंगो लाग्ने जानकारी दिए।
आज राति १२ बजेसम्म समानुपातिकतर्फका सबै उम्मेदवारको अन्तिम नाम आयोगमा बुझाइसक्नुपर्ने कार्यतालिका रहेको छ।रासस