
कप्तान विराट कोहली र रोहित शर्माको शतक र कीर्तिमानी साझेदारी र बलरको उत्कृष्ट प्रदर्शन मद्दतमा भारतले थर्ड वान डेमा न्यूजिल्याण्डलाई ६ रनले पराजित गरेको छ।
कानपूरमा हासिल गरेको रोमाञ्चक जितपछि भारतले ३ म्याचको सिरिज २-१ ले जितेको छ। पहिलो खेल हारेको भारतले त्यसयता लगातार दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो।
३३८ रनको लक्ष्य पछ्याएको पाहुना टोली न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३१ रन मात्र बनाउन सक्यो। किवी टोलीका लागि कप्तान केन विलियम्सन, ओपनर कोलिन मुनरो र विकेटकिपर टम लाथमले अर्धशतक प्रहार गरेपछि जितका लागि पर्याप्त भएन।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले कप्तान विराट र रोहितको शतक मद्दतमा ६ विकेट गुमाएर ३३७ रन बनाएको थियो। भारतका लागि रोहित शर्माले सर्वाधिक १४७ रन बनाए भने विराटले ११३ रन जोडे।
विराट र रोहितले दोस्रो विकेटका लागि २३० रनको साझेदारी गरे। वान डे क्रिकेटमा विराट र रोहितले चार पटक डबल सेन्चुरी पार्टनरसिप गर्ने कीर्तिमान समेत बनाएका छन्।
यस्तै वान डे करियरमा ३२औँ शतक प्रहार गरेका विराट सबैभन्दा चाँडै ९ हजार रन पूरा गरेका छन्। उनले १९४ इनिङ्समा उक्त उपलब्धी हासिल गरे। यसअघि एबी ८ भिलियर्सले २०५ इनिङ्समा ९ हजार रन बनाएका थिए।
वान डे क्रिकेटमा ९ हजार रन पूरा गर्ने विराट छैटौँ भारतिय खेलाडी हुन् भने समग्रमा १९औँ खेलाडी हुन्।